Khalti Ko Prasanga

झगडा पूरानो

पात र हावाको पतझरमा झगडा पूरानो,
हावा गतिमा हराउँछ,ऋतुभर रुख विरानो ।
अंग अंगको झगडामा दिदैं बलिदान
प्रतिक्षामा उभिन्छ, जाडोमा नग्न समान ।।

आफ्नो खानाको स्रोत लुटाएर पनि,
जिवितै रहन्छ मौसमको खेल भनि,
जमिनको साथमा,ऋतुको बेजोड प्रतापमा
हर रुख उभिएकै छ,सूर्यको बदलिदो तापमा ।।

फल उसकै लाग्छ, फूल उसकै फूल्छ
मुना उसकै आउँछ त पात उसकै झुल्छ
प्रकृति बनि आफैं प्रकृतिसितै जुझ्छ,
जति जमिन मुनि त्यति नै आकाशमा पुग्छ।।

त्यसैले त पात र हावाको मीत पनि पूरानो,
समर्पण पात गरि हावामा,रहन्छ रुख विरानो ।।

मेरो दर्शन

नयाँ घर,नयाँ देश,नयाँ समय नयैं छ परिवेश,
नयाँ बन्ने आवेशमा हराएका मेरा भग्नावशेष ।
म खोज्दै छु आफुलाई, कतै हराउँला भन्ने डरमा,
घच्च्याउँदै छु आज,तान्निनछु की भनि लहरमा ।।

स्वयंमा छ आगो,सलाईको लाग्दैन आश,
आफैंले लिएर आएको,आफैं सफल गर्नु छ सास ।
पर छ अन्त्त्य,कहिले खुशी कहिले आँसु कर्मको साटोमा,
लडे बरु उठ्दै जान्छु तर हिड्छु आफै बनाएको बाटोमा ।।