Khalti Ko Prasanga

हिऊँको नाममा

हांगा हांगामा हेर हिंऊ पो झूलेछ,
फूल बनी आज ऊ शिशिरमा नि फूलेछ ।।
लहलहराएका छन् आज हेर ती श्वेत पातहरु,
कि कतै हुन् यिनै मुस्काएका प्रकृतिका दाँतहरु ?

म नियाल्दै छु यो सौन्दर्य, भित्र एक कुनाबाट;
चिसो याम मच्चिदै छ,प्रकृति जित्ने कसको आँट ?
पानीले समर्पण गरिसक्यो,उसको वेगमा जमी,
हिउँ विजयमा थुप्रिदैछ बाहिर अझ रमी रमी ।।

नाग्ङिए कति,गाडिए कति तर प्रकृति रोकिंदैन,
दु;खमा दु:खी बन्ने मात्र हो,दु;ख बोक्न सकिदैन ।।
जमिन माथिका बिरुवा पनि,जमिन मुनि सरि,
दु;खमा नि रम्दै होला,दु;ख सितै मित्रता गारि।।

वसन्त थियो हिजो,आज आएको शिशिर;
बदलाव सत्य छ,मनमा के को लिनु पिर??
सौन्दर्य तत्वको, साधारण मनले कहाँ बुझ्छ?
भित्र मन रम्दा पनि,आँसुले आँखा रुझ्छ ।

फूलेको फूलमा मात्र हैन,सौन्दर्य त डाँठमा पनि रहेछ,
फूल बोक्ने शरीरमा, पर्दा भार बोक्ने सामर्थ नि रहेछ ।।
तह तह परि सके,तर यो त शुरुवातै मात्र अरे !
ठूला ठूला प्राणपनि,आज जमिनमै झरे ।।

नजिकको देख्ने,टाढाको छेक्ने मानवको स्वभाव;
नजिकबाट बग्दै टाढा पुग्ने यही नियम हो बहाव ।।
गु्थ्था बोकीं, कालै आकाश छुने त्यही पनि रुखको कोशिश,
माथि पुग्छ, सधैं उठ्छ, प्रयास छ तर छैन कुनै रिस ।।

आज यो मौसम, भोलि तर फर्कि आउँछ त्यही प्रेम
कतै अध्यारो,कतै उज्यालो, यही समयको खेल।।

भयभीत भाव

आज फेरि बाँच्ने मन बिरानोमा बिलायो,
हेर्दा हेर्दै घाटमा, कसले मेरो शरीर जलायो,
ऋतु परिवर्तन भएसरि वसन्त आउने आश;
शरीर पूरै धुँवा बनाई बिछोडियो मेरो सास ।।

मेरो बियोगमा रोयो कि कोही म जस्तै गारि?
जसरि शरिर यहाँ जल्यो,मन कसैको जल्यो की त्यसै गरि।
प्रकृतिबाट आएको शरिर प्रकृति मै जाँदा पनि कति पींडा,
जन्मसितै जन्मि आएको मृत्युसित किन यति घृणा ?

आज फेरि बाँच्ने मन बिरानोमा बिलायो,
हेर्दा हेर्दै घाटमा, कसले मेरो शरीर जलायो,
ऋतु परिवर्तन भएसरि वसन्त आउने आश;
शरीर पूरै धुँवा बनाई बिछोडियो मेरो सास ।।