Khalti Ko Prasanga

याचना

साथ तिमीले मेरा नदिए, अरु कसले नै दिन्छ र?
सूर्यै नउदाई बिहानी कसरी पो हुन्छ र?
हात तिम्रो हातमा नपरी मेरो, शुरु हुन्न कर्म ।
ओखती विना कसरी सकिन्छ र भुल्न मर्म ?

तिमीले नबुझे मेरो मनको बह अरु कसले बुझ्छ ?
मुलै नफुटी पानीको बह कहाँबाट पो उठ्छ ?
तिमी नै धामी, तिमी नै धन्वन्तरी मेरा निमित्त ।
तिमी नै मुटु, तिमी नै सोच, तिमी नै चित्त ।।

तिमी नरहे मेरो कथामा,भविष्य मेरो कसरी बन्छ ?
प्रीति लाएर पनि त्याग्यौ भनि लोकैले भन्छ ।
नसुने मेरो पुकार तिमीले,अरु कसले वाणी यो बुझ्छ ?
मुलै नफुटी पानीको बह कहाँबाट पो उठ्छ ?

आँखाको सपना, हामीले नकोरे, कसरी पो बन्छ र ?
कोरेको आफ्नो सपना, परायाले देखोस्, कसले नै भन्छ र?
हात तिम्रो, हातमा मेरो नरहे, कोशीसको अर्थ रहन्न ।
हात तिम्रो, हातमा मेरो रहे, कुनै कोशीस व्यर्थ बहन्न ।।

तिमीले नदेखे यो ह्रदयको छटपट, अरु कसले नै देख्छ ?
आई तिमीले नरोके, आँखाको समुद्र हरपल नै बग्छ ।।
नबुझे मेरो माया तिमीले, अरु कसले पो बुझ्छ ?
व्याकुल शिशुसरि, मन मेरो, तिमीविना क्षण क्षणमा रुन्छ ।


साथ तिमीले मेरो नदिए, अरु कसले नै दिन्छ र?
सूर्यै नउदाई बिहानी कसरी पो हुन्छ र?
हात तिम्रो, हातमा मेरो नरहे, कोशीसको अर्थ रहन्न ।
हात तिम्रो, हातमा मेरो रहे, कुनै कोशीस व्यर्थ बहन्न ।।





दशैं आयो

दशैं आयो,दशैं आयो,सपना र याद मनमा फेरि पनि बही आयो।
दशैं आयो, खाउँला पिउँला कहाँ पाउँलाको लय औंला हुँदै लहराइ आयो।।
अझपनि मेरो मन त्यही चंगासितै दशैंको नाममा उड्ने गर्छ ।
चचहुँइ,चचहुँइको आवाज यी मन हुँदैं मुटुमा अझै ढकढकाउने गर्छ।।

घटस्थापनामा रोपिने जमरासितै अझै मनमा दशैंको सुवास रोपिन्छ ।
दक्षीणाले के-कति गर्ने भन्ने उमंगले हेर अझै मन छोपिन्छ ।।
त्यो स्वाद अझै जिब्रोमा ताजा छ जब कबाबको सुवासले मुख रसाउथ्यो ।
त्यो आभास उही छ जब बिहानीको पारिलो घाममा मधुर हावा बहन्थ्यो ।।


के बदलियो भनूँ खै जब मेरो मनमा ती आभास उही नै छन् ?
चार वर्ष पछिपनि ती वातावरण जस्ताका तस्तै यही नै छन् ।।
दुनियाँ जाओस् जहाँसम्म;समय बदलियोस् जति नै यहाँ ।
बारीमा म्याँ म्याँ सुन्दा दौडिंदै झ्यालमा पुग्ने म उही;पुगूँ चाहे जहाँ ।।

कति दक्षीणा पाएँ भन्दै;उत्सुकतामा खामभित्र चियाउने म उही छु।
अझै पनि मन मनमा चंगातिर मन उडाउने म त्यही नै छु ।।
उस्तै रुपमा देवी देवताको मन्दिर पुगी;मनले आशीस माग्ने ।
उहि छु आज पनि कहिले दशैंको छुट्टी आउँला भनि ताक्ने ।।

शुभकामना फेरि पनि यो दशैंको;सारा खुशी यसले फेरि लिएर आओस्
धेरै धेरै शान्ति,सद्-विचार, सद्-संगत,सद्-मार्गले जीवन समाओस्।।
नयाँ नयाँ खुशी ल्याओस्;पुरानोको स्वाद अनि आफ्नोपन नर्बिसाइकन ।
शुभकामना फेरि सबै माझ;खुशीयालीले भरियोस् हर नेपाली मन ।।

लोग्ने

कति गाह्रो नाता हो यो;कस्तो जटिल शब्द यो-लोग्ने,
अलग शरीर,अलग सोचको साथ रही;दु:ख सुख भोग्ने ।
शब्द शब्द केलाउने बानी मेरो,शब्दलाई पाथीमा बोक्ने उनको,
भूत लेख्दै अमर बनाउने मेरो प्रयास,लेखै नपढ्ने स्वभाव उनको ।।

धेरै नजिकिंदा यो पनि बिर्सिइदो रहेछ;मानिस दुई नै हो भनी,
बेला बेलामा स्वत: प्रकृतिले सम्झाउँछ शरिरको गोटा गनी ।
म भन्छु यो ठीक,तब स्वत: अर्को छनोट निकाल्छन् उनी,
कहाँ कहाँ अलि कम जानेकै छु मैले;यही सोचले चलाउँछन् जुनी ।।

माया गर्छन्,विचार गर्छन्,खुशी चाहन्छन् यो हो साँचो ,
तर त्यो सितै अपेक्षा ठूलो लिई धर्तीकै उनलाई खाँचो ।
पुरुष स्वभाव प्रशंसनीय, शक्तिवान,सजग अनि अ-टल,
तर विड्मवना बुझ्दैनौ; तिमीसित नारी गुणको छैन हल।

उल्टो सोचले ग्रसित ठान्छौ;दुई सोचको अलगपन बुझ्दैनौ,
म एक माटोले बनेको,तिमी अर्कैको;दुई शरीरले एकै सोच बोक्दैन।
म भन्दा जान्ने छौ कत्ति कुरामा; कतिमा म भन्दा राम्रा पनि,
तिम्रो जस्तै मेरो पनि सपना छन्;अनि त्यति नै हाम्रा पनि ।।

म बुझाउन खोज्छु; सोच्छौ म प्रयास गर्दैछु सिकाउने,
सोच्छौ ;म सबलाई भन्दै हिड्छु;तिमी मात्र गर्छौ लुकाउने।
नजिक आँउदा ठक्कर लाग्छ;टाढा जाँदा पनि एक्लोपनको घाऊ,
सही दुरिमा बस्नु नै उत्तम;आफ्नो घेरा भित्रै राखी पाउँ ।।

दोष ममा नभएको हैन;लेख्दैनौ र मात्र, नभए मेरोले त कथै बन्ला,
म आफूले आफू देख्दिन;सायद तिम्रो मनले मेरा खराबी भन्ला ।
मनले हैन,ज्ञानले। अब तिमीलाई अध्ययन गर्ने क्रम गर्छु शुरु ,
शिष्य म बन्छु, विषय वस्तु तिमी;अनि समय रहोस् गुरु ।

अवधि उमेर भरको;उपलब्धि होला 'सायद' सफलताको,
अब पढ्नै पर्यो; परिश्रम अनि युद्ध यो स्व: हकको ।
ठूला ठूला योगी अनि ऋषिले पनि हातै नहालेको यो विषय,
अध्ययन शुरु गर्नै पर्ने समयले थमायो आषय:
..................... मेरो लोग्ने-मेरो विषय ।।

अर्को प्रश्न

मनमा आज 'ताल' छाएको छ,
मन्द मन्द हावासितै; वसन्त पलाएको छ।
वर्षौ पछि आज शान्तिको आकाश छाएको,
कत्ति छट्पटि अनि आँसुपछि यो बिहानी पाएको ।।

शक्तिको पराकाष्टामा भन्दा शान्तिको झझल्कोमा,
खुशीको बास हुने रहेछ सन्तुष्टिको साहारामा ।
शान्ति मागेर हैन, खोजेर हैन, लिएर पो बन्दो रहेछ,
वाणीले भनेर हैन, सुनेर हैन,बुझेर पो तथ्य बोल्दो रहेछ ।।

परिस्थिति उही;समय उही तर ह्रदयको आफ्नो संसारमा,
आफ्नै मौसम,आफ्नै वातावरण र आफ्नै नाट्य रहन्छ ।
जतिसुकै बदलियोस् समय,जतिसुकै अलगियोस् चाहना ,
ह्रदयको बहाव आफ्नै अन्त्यतिर हरदम बहन्छ ।।

म बदलिएको छु;परिस्थिति हैन,समय हैन,आधार हैन,
तर बदलाव हो म भित्रको सोच,जोश र दरिलो साथको ।
म समालिएको छु,धनले हैन,नाताले हैन,अवस्थाले हैन,
तर समेटिएको छ, ज्योति,शक्ति अनि सोच माथको ।

किनारा त पाइला पिच्छे नै छन्,तर मेरो खोज त्यो अन्त्यको,
जँहा साँच्चै नै समापन हुन्छ; त्यो समुद्री गन्तव्यको ।
शुरु र अन्त्य विना केही नहुने;ज्ञान भन्छ यही हो सत्य,
कँहा छ यसको शुरुवात, कँहा हो अन्त्य; खै खुलेको यो तथ्य?

शान्त मनको तालमा डुब्दा यदा कदा यसरी,
कौतुहलताको हजारौं बादल उमड्डिन्छन्,वर्षा खोजे जसरी।
ज्ञान, बोध र अनुभवको रसले कहिले होला मन मेरो पूर्ति?
अरु कसलाई सोधूँ, प्रश्न भरिएका आँखाले हेर्छु,उही परमात्माको मूर्ति ।।

पहिचान

हरदम बढ्नु मेरो प्रकृति हो,क्षण-भरमा बदलिनु मेरो परिचय,
हिजोलाई छाडी, आजको बाटो हुँदै भोलिमा जानु मेरो लय ।
रुप फरक पार्दै परिस्थितिसँग ठोक्किनु मेरो बहाव,
आफ्नो कर्मले त्यही परिस्थिति बदलिने, मेरो प्रभाव ।।

म केही हैन एक दृष्टिले,म ब्रहाण्ड अर्को दृष्टिले,
मेरो क्षमतामै पर्छ सृष्टि रच्ने,मलाई जन्माएको फेरि सृष्टिले।
म तुच्छ कीरा पलमा,पलमा म विराट् वृक्ष ,
पलमा म ब्रहाण्ड त पलमा यसलाई घुमाउने अक्ष ।।

शक्तिको मुहान म नै हुँ, तर उसैको रुपमा अल्मलिने म जति छैन कोही ,
म स्वयं गन्तव्य हुँ, तर ममा आउने बाटो बिर्सिने म जस्तो छैन कोही।
म हर वस्तु, हर प्रश्नले मागेको परिभाषा हुँ,तर म भन्दा ठुलो प्रश्न पनि छैन ,
म हर संकटको समाधान हुँ,नयाँ आयाम हुँ,तर म भन्दा ठुलो संकट पनि छैन।।

बनाउने म, मिलाउने म,बिगार्ने पनि त मै हुँ,
बढाउने म, फलाउने म,अनि माटोमा मिलाउने पनि त मै हुँ ।
म समय हुँ, म प्रकृति, अनि म नै त शून्य पनि,
म विचार हुँ,म आविष्कार हुँ, अनि हर निर्माणको जन्य पनि ।।

तिमी-पानी

बाहिर हेरेको आज, बेस्सरी पानी परिरहेको देखें,
भित्र हेरेको,तिम्रो मायाको मलाई बानी परिसकेको देखें ।
जति छटपट पानी नपाउँदा माटोले गर्ने गर्छ
त्यति नै छटपट तिमी नहुँदा मुटुले बेहोरेको भेटें ।।

लामो तर्साई पछि बुँदाले धर्ती अगं छुँदा,
जसरी प्रेमको भोगमा झस्किने गर्छे तरंगसित ।
मात्र तिम्रो कल्पनाले मनको दैलो लिप्दा,
बहावको अनुभव रंगिन्छन् अंग-अंगसित ।।

बादलले ढाकेपछि मध्य दिनैलाई निभाइदिने पानीको जोश,
तिम्रो सामिप्यको कल्पनाले मात्र उडिजाने मेरा होश ।
उस्तै उस्तै लाग्छन् यी दुईका गुण-दोषका सार,
एक तिमी नै,जसको सामु नपरि सकल मेरा हार ।।

भीषण गर्जन पछि,अत्तालिएको धर्तीलाई सम्हाल्दै पानी,
उसैका वरिपरी फोहोरा अनि मुस्लो बनी बग्दो पो रहेछ।
एक रुपले तर्साउने अनि अर्को रुपमा हर्ष बनि उदाउने,
उस्तै गुण-दोष लिदैं,हेर, पानी तिमि बनि पो बहेछ ।।

गुनासो ....................

साह्रै बोर पो भयो साथी,आज अफिसमा काम गर्दा,
आफ्नै मुहार नि बिर्सि सकें, कम्प्यूटर हरदम हेर्दा ।
दिमागले कर्मको अर्थ भेट्न छाडिसक्यो,चौतारीमा सुस्ताउन खोज्दै,
भेट्यो चस्माको कैद आँखाले, जो हिड्थ्यो सदा स्वतन्त्रता रोज्दै ।।

थकाईको परिभाषा बुझ्ने प्रयास, चरम सिमामा शरीर छ गर्दै ,
सयौं विषयको भ्रमण गर्ने मन,अझ पनि तर्कको नदी छ तर्दै ।
झट्ट हेर्दा मै जस्तो देखिने मेरो रुप नि आजभोलि थाकेको ,
हाँस्ने चाहना यी ओंठमा अझैं,कामको भारले उसैलाई ताकेको ।।

जे मन पर्दैन त्यही गर्नु पर्ने,मेरो जीवनको अटल सत्य,
थालेपछि सक्काउनै पर्ने,सोच फेरि मै भित्र गर्छ मरि हत्य।
विवशता एकातिर,सफल हुने चाहाना त्यो भन्दा नि विशाल,
मनको एककुनामा जोशको मुस्लो त अर्कोतिर व्यर्थ जल्ने मशाल ।।

यस्तै छन् यी मनका कुरा, जत्ति ताने पनि लम्बिन्छन्,
कर्मका शुरुवात एक सोचमा हुन्छ त अर्कैमा टुग्ङिन्छन्।।
म मात्रै कँहा हो र, हर जीवको यँहा यही छ गति,
कोही देखाउँछन् त कोही लुकाउँछन्,साथी,आ-आफ्नो मति ।।