Khalti Ko Prasanga

दशैं आयो

दशैं आयो,दशैं आयो,सपना र याद मनमा फेरि पनि बही आयो।
दशैं आयो, खाउँला पिउँला कहाँ पाउँलाको लय औंला हुँदै लहराइ आयो।।
अझपनि मेरो मन त्यही चंगासितै दशैंको नाममा उड्ने गर्छ ।
चचहुँइ,चचहुँइको आवाज यी मन हुँदैं मुटुमा अझै ढकढकाउने गर्छ।।

घटस्थापनामा रोपिने जमरासितै अझै मनमा दशैंको सुवास रोपिन्छ ।
दक्षीणाले के-कति गर्ने भन्ने उमंगले हेर अझै मन छोपिन्छ ।।
त्यो स्वाद अझै जिब्रोमा ताजा छ जब कबाबको सुवासले मुख रसाउथ्यो ।
त्यो आभास उही छ जब बिहानीको पारिलो घाममा मधुर हावा बहन्थ्यो ।।


के बदलियो भनूँ खै जब मेरो मनमा ती आभास उही नै छन् ?
चार वर्ष पछिपनि ती वातावरण जस्ताका तस्तै यही नै छन् ।।
दुनियाँ जाओस् जहाँसम्म;समय बदलियोस् जति नै यहाँ ।
बारीमा म्याँ म्याँ सुन्दा दौडिंदै झ्यालमा पुग्ने म उही;पुगूँ चाहे जहाँ ।।

कति दक्षीणा पाएँ भन्दै;उत्सुकतामा खामभित्र चियाउने म उही छु।
अझै पनि मन मनमा चंगातिर मन उडाउने म त्यही नै छु ।।
उस्तै रुपमा देवी देवताको मन्दिर पुगी;मनले आशीस माग्ने ।
उहि छु आज पनि कहिले दशैंको छुट्टी आउँला भनि ताक्ने ।।

शुभकामना फेरि पनि यो दशैंको;सारा खुशी यसले फेरि लिएर आओस्
धेरै धेरै शान्ति,सद्-विचार, सद्-संगत,सद्-मार्गले जीवन समाओस्।।
नयाँ नयाँ खुशी ल्याओस्;पुरानोको स्वाद अनि आफ्नोपन नर्बिसाइकन ।
शुभकामना फेरि सबै माझ;खुशीयालीले भरियोस् हर नेपाली मन ।।