Khalti Ko Prasanga

याचना

साथ तिमीले मेरा नदिए, अरु कसले नै दिन्छ र?
सूर्यै नउदाई बिहानी कसरी पो हुन्छ र?
हात तिम्रो हातमा नपरी मेरो, शुरु हुन्न कर्म ।
ओखती विना कसरी सकिन्छ र भुल्न मर्म ?

तिमीले नबुझे मेरो मनको बह अरु कसले बुझ्छ ?
मुलै नफुटी पानीको बह कहाँबाट पो उठ्छ ?
तिमी नै धामी, तिमी नै धन्वन्तरी मेरा निमित्त ।
तिमी नै मुटु, तिमी नै सोच, तिमी नै चित्त ।।

तिमी नरहे मेरो कथामा,भविष्य मेरो कसरी बन्छ ?
प्रीति लाएर पनि त्याग्यौ भनि लोकैले भन्छ ।
नसुने मेरो पुकार तिमीले,अरु कसले वाणी यो बुझ्छ ?
मुलै नफुटी पानीको बह कहाँबाट पो उठ्छ ?

आँखाको सपना, हामीले नकोरे, कसरी पो बन्छ र ?
कोरेको आफ्नो सपना, परायाले देखोस्, कसले नै भन्छ र?
हात तिम्रो, हातमा मेरो नरहे, कोशीसको अर्थ रहन्न ।
हात तिम्रो, हातमा मेरो रहे, कुनै कोशीस व्यर्थ बहन्न ।।

तिमीले नदेखे यो ह्रदयको छटपट, अरु कसले नै देख्छ ?
आई तिमीले नरोके, आँखाको समुद्र हरपल नै बग्छ ।।
नबुझे मेरो माया तिमीले, अरु कसले पो बुझ्छ ?
व्याकुल शिशुसरि, मन मेरो, तिमीविना क्षण क्षणमा रुन्छ ।


साथ तिमीले मेरो नदिए, अरु कसले नै दिन्छ र?
सूर्यै नउदाई बिहानी कसरी पो हुन्छ र?
हात तिम्रो, हातमा मेरो नरहे, कोशीसको अर्थ रहन्न ।
हात तिम्रो, हातमा मेरो रहे, कुनै कोशीस व्यर्थ बहन्न ।।