Khalti Ko Prasanga

अनिश्चित्ताको घडा

यति धेरै अनिश्चित्ताका घडा छन् वरपर छरिएका,
हर घडा फेरि मानिसका व्यक्तिगत सोचले भरिएका ।
जीवनको घडा,मरणको घडा,कर्मको घडा,कर्तव्यको घडा,
हर एक घडा बीच यहाँ,घमण्ड र अज्ञान बडा बडा ।।

दु:ख उसको, मसम्म कहिल्यै आइपुग्दैन भन्ने सोच,
उसले पायो, मैले पाइँन, भन्ने मनको भारी बोझ् ।।
यी सब बीचपनि आफूलाई थामी राख्नु पर्ने बाध्यता,
अनि भाग्य र समय बीच निभाउनु पर्ने मध्यस्तता ।।

अन्तरिक्षमा खुल्ला उभिंदा पनि,
शीर माथि आकाश छ भन्ने प्रकृतिको छल।।
हरपलै धर्ती तर्फ सबलाई तानिरहने,
गुरुत्वार्कषण प्रतिको निस्कर्ष रहित हल ।।

मानिस तैपनि भाग्यको पिध रहित घडालाई ,
दुई अन्जुलीले हर क्षण खोज्छ भर्न ।
यहीं घडालाई एकदिन डुङ्गा बनाई,
प्रयास गर्छ मान्छे फेरि भवसागर तर्न ।।

जीवनको घडा,मरणको घडा,कर्मको घडा,कर्तव्यको घडा,
हर एक घडा बीच यहाँ,घमण्ड र अज्ञान बडा बडा ।।

विचार सिन्चन

मनको बगैंचामा आज अनायास,
एक तरंगसित घुम्दै गरेको भावना देखें ।
सौंन्दर्य उसको यस्तो खास,
पलमै नसोची आफ्नो ऊ प्रतिको भाव पोखें ।।

टपक्क टिपी उसलाई लगें सयन कक्षमा
मायाको ओढ्ने भित्र राखी लुकाए वक्षमा ।
मनको रसमा डुबाई आफ्नो विचारले सिचें
आफ्नो ज्ञानले भ्याएसम्म विचारले थिचें ।।

कयौं रात बिते, हेरचाहमा, निद्रा विहीन ,
कयौं दिन बिते, भई मायामोहमा लीन ।
सुक्ष्म सुक्ष्म मेरो विचारको जोरन हाली,
उसमा उगाए विचारको अदभूत् बाली ।।

बढ्दो विचारको हुर्कदो शक्ति एकातिर,
ऊ प्रतिको मेरो अभिलाषा अर्कोतिर ।
उसको बाल्यकाल मेरो इच्छाको संगतमा,
मेरो इच्छाको कम्पन उसको रगतमा ।।

ऊ मेरो आत्माभित्रै अब हर तवरले मिसिएको
इच्छामा परिवर्तित ऊ, इच्छाशक्तिकै मेलमा ।।
मेरा हर परिवर्तन छन् यहाँ चलिरहेको,
यही आत्मा-शक्तिको अदभूत तेलमा ।।

यसरी नै सिन्चन गर्छु,बगैंचामा भेटिएका भावनालाई,
हुर्काई बढाई,विचारमा मिलाई,आफूमा परिवर्तनको आगो जलाई ।।
फेरि आज बगैंचामा भावना छु रोज्दै,
कतै भेटिहाल्छु की भनी परम्-धाम पुग्ने बीज खोज्दै् ।।

आमा मेरी

आमा मेरी, 
मनैमा छौ सधैं मेरो तिमी 
कहिले प्रार्थना बनी, 
त कहिले आरध्य बनी, 

तिम्रो कोखमा बसेको दिन 
अझ सुनौलो लाग्छ,
 तिम्रो काखमा सुतेको
 सम्झनाले अझैं पींडा भाग्छ ।। 

 आमा मेरी, 
आँखैमा छौ सधैं मेरो तिमी
कहिले साहारा बनी, 
त कहिले संगी बनी ।

तिम्रो हात थामेको बाटो 
अझ गन्तव्य झैं लाग्छ, 
तिम्रो अंगालोको स्मरणले, 
हर मोड छहारी झैं लाग्छ ।। 

आमा मेरी, 
तिमी मेरो अर्थ  हौं जस्तो लाग्छ,
 तिमी नहुँदा, उपलब्धी मेरा,
 सब व्यर्थ झैं लाग्छ ।

 जति टाढा भए पनि, 
मेरो हर खोजमा तिमी, 
मलाई मायाको परिभाषा सिकाउने; 
मेरो सोचमा तिमी ।

तिम्रो सु:स्वास्थको कामना;
मेरो हर प्रार्थनाको उद्देश्य ,
टाढा छु तिमीबाट, 
तर तिम्रो छेऊ हुने छु अवश्य ।। 

सब बन्धन तोडी आउनेछु; 
अहिले त्यही शक्ति छु बटुल्दै । 
तिम्रो माया आँखाबाट बग्ला भनि;
 भावना मनमै छु संगाल्दै ।।

आमा मेरी, 
म तिमीसितै छु, 
तिमी मसितै भए जस्तै गरि।।

म जहाँ छु, 
मलाई सधैं डोर्याउछन्,
तिम्रो सिख छन् जुन वरिपरि ।

आमा मेरी, 
मेरो आरधना तिमी, 
मेरो आरध्य पनि । 

मेरो जीवनको शुरुवात तिमी,
अन्त्य तिमी,
तिमी नै मध्य पनि ।।