Khalti Ko Prasanga

जाग ए शक्ति ...

जाग ए शक्ति, जाग अब, गर्जेर जाग, चम्केर जाग
जाग ए शक्ति, मभित्रको शक्ति ......
तोड यो निद्रा, तोड यो मौनता, वर्षेर जाग, वेगमा जाग
जाग ए शक्ति, मभित्रको शक्ति ......

शान्त थियौं, चन्चल थियौं, पुत्री रुपमा तिमी
सुक्ष्म थियौं, सुसुप्त थियौं, नारि रुपमा तिमी ।
कर्तव्यमा रक्ताम्मे थियौं, पत्नी रुपमा तिमी,
ममताले मदमत्त, मातृ रुपमा तिमी ।।

तर अब जाग,  जाग ए शक्ति, आँधी बेरि सहित जाग ,
 आफ्नो निम्ति हुँइकिएर जाग ।।
तोड यो बन्धन, छोड यो  तन-मन् ,
महा-शक्ति, प्रकृति बनी सुधारको लागि जाग ।।

शरिर भित्र ताप बनि छरिएको तिमी,
नशा भित्र तरल बनी बगिरहेको तिमी,
मन भित्र विचार बनी खेलिरहेको तिमी ,
शरिरको भित्रि कोशमा ज्योति बनी बलिरहेको तिमी ।।

बटुल आफूलाई, जुटाऊ आफूलाई,
जागृत रुपमा आऊ तिमी अब ।।
मभित्रको ए महा-शक्ति ! जाग अब,
आफ्नो निम्ति विश्वासका साथ जाग अब ।।

ऋतु बनी बदलिरहेको तिमी ,
निशा-उषा बनी खेलिरहेको तिमी ।।
माटो बनि लोकलाई पोसिरहेको तिमी ।
धर्ती बनी हर पींडा सोसिरहेको तिमी ।।

सबलाई बोलाऊ, सबको ममा गर  संगम
म मेरो रुप धर्छु, पुर्णताको  होस् आगमन ।।
जाग शक्ति, जाग अब, सूर्योदयको  आयो घडी ।
विगुलको आवाज गुन्जियो, जित्नू छ युद्द लडी ।।

मभित्रको महा-शक्ति जाग ! जाग अब !
अधर्म माथिको धर्म जीतको नयाँ कथा छ लेख्नू ।
मभित्रको महा-शक्ति जाग! जाग अब .....
कुविचारको घडालाई, ज्ञान र विश्वासले छ पोख्नू ।।

 

प्रकृति

कहीं कति कडा प्रकृति, कही कस्तो नरमी ।
कहीं शीतल शान्त त कही प्रचण्ड गर्मी ।।
तिम्रो बदलिंदो रुप, खै के को हो ईसारा ?
तिम्रो प्रचण्डता भोग्नेलाई,खै के छ साहारा ?

माता मान्छ लोकले त किन सन्तानमा भिन्नता ?
कसैलाई ममताको छाया त कसैको भागमा खिन्नता ।।
कही तिमी आफ्नो अति सुन्दर रुपमा स्थापित
कही अलिकति पनि वर्षेन;  किन तिम्रो प्रीत ??

के कथा वा ज्ञान छ लुकेको यो विविधतामा ?
खै कुन माया अंकित छ यो असमानतामा ?
प्रकृति; हरपल यो खेलमा तिमी छौं अगाडि  ।
कहीं आफ्नो पूरै दृष्टि त कहीं हेर्दिनौ फर्की पछाडि ??

यो तिम्रो माया गर्ने तरीका हो या रिस पोख्ने बाटो ?
आमा हौं तिमी पनि, यो कडापन किन मायाको साटो ?
तिमी हाँसेको हेर्न, सन्तानको मन पनि तड्पन्छ ,
आमा खुशी होऊ भनि, ह्रदय हरपलै भन्छ ।।

यो रिसबाट निस्क अब, यो विषबाट निस्क अब,
तिम्रो हाँसोको प्रतिक्षामा  तड्पिसके संसार अब ।
तिमी पनि कर्तव्यको मारमा होलाऊ, न्यायको भारमा होलाऊ ,
के सही, के गलतको जटिल  ढोकारुपी सँघारमा होलाऊ ।।

तर अब सबले तिम्रो शान्त रुप देखून्, तिम्रो वात्सल्यको अनुभूति पनि ।।
सबैलाई समान व्यवहार सहित पूराना कुरा बिर्सिदेऊ त्रुटि भनि ।
प्रकृति तिमी; सबको निम्ति माया बोकी फर्की आऊ ।।
आफ्नो सुन्दर सबल रुप धरी यो; सम्पूर्ण  लोकमा छाऊ ।।

माया त छँदै छ ...............

छातीमा टपक्क टाँसिएर भन्थें,
बिहे म कहिल्यै गर्दिन आमा ..
सधैं तिमीसितै बस्छु, तिमीसितै बाँच्छु,
बुबा-आमा र म, सँगै काटौंला  जीवन लामा लामा ..

  उमेर बढ्यो, समय बह्यो, पढाई तर्फको भार पनि,
 आमा-बुबा लाई छोडी पढ्न उडें, कर्मको मार भनि ।
ह्रदयमा घाऊ त लागेकै थियो, तर समय हामीभन्दा बलियो
..........माया  त छँदै छ आमा, खालि प्राथमिकता बदलियो ।।

हातमा हात राखी, जग्गेमा अग्नि साक्षी राखियो,
जीवन भरि साथ दिने मन्त्र पनि पढेकै हो ।
मुटु भरि माया, ह्रदयमा अथाह प्रेम,
अनि एक अर्का विना बाँच्नै नसक्ने अनुभव पनि भएकै हो ।।

   वर्ष बित्यो, ऋतुहरु आए गए। काम, कर्तव्य पट्टीको लचकता बढ्यो ।
   व्यवसायको माग टार्दा टार्दा, जीवनको हर आवश्यकता चढ्यो ।।
बदलावमा बदलिंदा जीवन, सोच, स्वभाव, शक्ति सबै घुलियो
..........माया त छँदै छ जीवन-साथी, खालि प्राथमिकता बदलियो ।।


नौं महिना गर्भमा राखी तिमीलाई जन्माउँदा, म पनि नँया रुपमा जन्मिए,
सन्तानको रुपमा तिमीलाई धरे पछी, तिमी सितै म मख्खिए ।
तिमी भन्दा ठुलो अरु केही भएन, तिमी भन्दा माथि अरु कोही रहेन,
तिमीलाई छातिमा च्यापी माया गर्नु बाहेक मनले अरु केही सहेन ।

    समय बितें, दिन र रात सितै, तिम्रो भविष्यतिरको तयारी बढ्दो,
  पढाई, काम, कर्तव्य, जीवन यी सबको खुड्किलामा तिमी चढ्दो ।।
बिछोडमा ह्रदय त रोएकै थियो, तर आशीशै आशीशले बिदा गरियो,
..........माया त छँदै छ सन्तान, खालि प्राथमिकता बदलियो ।।

जन्मे देखि साथ दियो शरीरले, अनगिन्ति राम्रा नराम्रा पलहरुमा
बाल्यकाल, जवानी, वयस्क त अन्य साना मसिना समयका छलहरुमा ।।
मैले पनि कति पल्ट सिंगारे तिमीलाई, कयौं पल्ट दिएँ चोट,
तिमीमा कति पल्ट सौन्दर्य देखें त कति पल्ट औंल्याए खोट् ।।

आज बुढौंलीको पुलमा तिमी अड्किरहेका छौ, जीवनको अन्तिम सास गन्दै
शक्ति र सबलता दुबैलाई पुराना कहिल्यै नभेटिने साथी भन्दै ।।
सास त्याग्ने पींडा, यति कडा हुँदा हुँदै पनि, तिमीसितको साथ यहीं सकियो,
..........माया त छँदै छ 'जीवन', खालि प्राथमिकता बदलियो ।।



कर्मले समात्यो

मरुभूमिमा पानी सुके सरि हिम्मत सब अब सुके,
हत्केलाका रेखाहरुले वास्तविकतालाई लुट्नु लुटे ।
जटिलताको जालमा माकुरा आफैं यसरी अल्झियो,
आफ्नो जीवनलाई  शिकार मानी त्यसैमा बल्झियो ।।

के सही ? के गलत? अब कीताबी कथा ताप्ने दिन आए
आदर अनि माया; इन्ची टेपले नाप्ने दिन आए ।।
चारैतिर फैलिएको यो  पिजडा भित्रको सुगा-काव्य ।
फलामको पींजडामा रहेकोले, सुनको ठान्छ  ऊ भव्य ।।

दिन पछि रात, रात पछि दिन, अनि फेरि अर्को रात ।
रित्तो औंला, रित्तो अँजुली, अनि रित्ता छन् हात ।।
शरिरभरि काँडा बोक्ने दुम्सीको लागि त्यो नै गहना ।
प्रकृतिले थमाएको हतियार, गरी सुरक्षाको बाहना ।।

बित्छ रे है यो दिन, बित्छ रे है यो रात, सबै भूत बन्छ रे,
जिन्दगी नै एकदिन बित्छ रे, बितेकोलाई नै भूत भन्छ रे ।।
कर्मले तोकेको सँजायको मुल्य , व्याज सहित तिर्नू नै छ ।
कर्तव्य सितै आएको यो झोला, पिठ्यूमा भिर्नू नै छ ।।
 
विचारशाली  अनि चेतनशील बनी सँजाय भोग्नुमै,सँजाय होला कम
कर्मले समात्छ ‍भन्ने सत्य वर्षंदै छ झम्-झम ।।
सबै व्याज यसैपालि तिर्छु, कर्मले तोकेको सबै मुल्य ।
यसपछि फलमा अलमलिनू छैन, जीवन धेरै छ अमूल्य ।।


 

सुन्दर वर्तमान


बाटो आजको मैले, न हिजो देखेंको थिएँ ।
बाटो भोलिको मैले,न आज देखेको छु ।
दृष्टि  मस्त मेरो , आजको यो पल  नियाल्न।
हस्त व्यस्त मेरो, आजको यो क्षण अंगाल्न ।।

न त म बितेको पल हुँ , न त म आउने त्यो क्षण ।
म सम्पूर्ण वर्तमान अनि यसैको सानो कण ।।
हिजोको दिन हिजैलाई, भोलिको पल भोलिलाई,
आजको यो पल हाम्रो छ, सबै भन्दा राम्रो छ ।।

न म कुनै कथा हुँ, न त कुनै कल्पना
म त यो पलको सत्य हुँ, केवल तथ्य हुँ ।।
न मेरो कुनै मूल छ, न मेरो कुनै गन्तव्य ,
म आफू साधारण छु, म आफू नै भव्य ।।

म एक विन्दु हुँ, म नै सम्पूर्ण आकाश,
म सफलता हुँ , अनि म नै प्रयास ।
म  पूर्ण रुपमा  यति अपूर्ण ,
यो अपूर्णताको सन्तोषमा , सम्पूर्ण ।।

यसैले,
हिजोको दिन हिजैलाई, भोलिको पल भोलिलाई,
आजको यो पल हाम्रो छ, सबै भन्दा राम्रो छ ।।

यो पल

यो लामो लाममा म पर्खिरहेको छु आफ्नो पालो,
रंगी-चङ्गी व्यक्ति वरपर, कोही खैरो,कोही सेतो, कोही कालो ।।
फरक फरक सबका चटकी, फरक-फरक छन् हाऊ भाऊ ।
कोही एक्लै, कोही झुण्डमा, चलिरहेको छ आऊ जाऊ ।।

म पर्खिरहेको छु यहाँ, वरपर नियाल्दै तमासा ।
तौलदैं अनि जोख्दै हरेकले फ्याँकेको पासा ।।
मलाई भोलि यँहा खोज्ने कोही छैनन् तैपनि ।
आज यी सबैसित मिसिएको मैपनि ।।

सबै यहाँ पर्खिनैरहेका, कोही एक्लै, कोही दुई ।
औचित्य सबको एकै, कोही कदममा त कोही चढेका बुई ।।
म पनि बाढीको भेलमा बगेको वस्तु जस्तै बग्दै ,
कहाँ जाने, कहाँबाट आएँ, औचित्यहीन सबै भुल्दै ।।


हिजोको दिन बिते जस्तै; बित्छ यो जीवन पनि
चाहनू नचाहनू, यिनले केवल बढाँउछ कुटिलता ।
जीवन वास्तवमा यति सरल छ; यति सरल ,
मनुष्य सरलता भित्र हराई खोज्छन् जटिलता ।।

डण्डीमा झुण्डेपछि ध्वजा हावासितै बहेकै हुन्छ,
आ-आफ्नो भागमा जे पर्छ; त्यो सितै मनु बाँचेकै हुन्छ ।
केही यस्तो छैन पींडा वा सुख; जसले जीवन रोकोस् ।
कही यस्तो केही छैन, जसले अन्त्य छेकोस् ।।


यसैले त वास्तवमा, भोलि कसैलाई यँहा खोज्ने कोही छैनन् ।
यसैले त सायद, भोलिको दिनमा यँहा खोजिनु पर्ने केही छैनन् ।।।