Khalti Ko Prasanga

For You


Yes, I have done this before.
Indeed, so many times!
I get lost, bewildered and scattered,
then I realize, 'Its not who I am',
I then strive for that unseen,
I then crave for that which
would end all my cravings.
I gather my broken pieces,
and try to merge them together.
Merge them into one that would make sense to my cravings.
That which would make sense to my inner self.
I strive to the goal, unthought-of before.
I strive for the journey that has no itinerary.
I walk, I cry, I fall and then I crawl.
Slowly, I sense the fragrance,
I sense the existence 
and I sense the root of my cravings.
Then, I get up, walk and slowly run towards it.
The happiness of finding you, 
without memory and a clue,
is so beautiful and precious,
that I do that again and again.
Just, to find you once again.
I dare to erase my memory of the journey,
So, I can rediscover you one more time.
So, I can experience the happiness of finding you as myself.
I have done this before and I am doing this now.
With the happiness, I experience with this,
I can say safely, I will do this again.
I will born hundred times, just to rediscover you again.
I will go through hundreds of pain, just to see that light of yours.
I will live it again, just to experience this LOVE.
The love, that I was seeking everywhere and finally found within myself.
And that love is just for YOU!

मेरो परिचय

के नाम भनूँ म मेरो तिमीले सोध्दा ?
मेरो परिचय नामले कहाँ समेट्छ र?
मेरो अस्तित्वको फैलावट मानव मस्तिष्क भन्दा अपार छ,
शब्द वा ध्वनि मात्रको क्षमता देखि पर ।

म सरीर हैन, म मन हैन,
म भाव हैन, म विचार हैन
म बुध्दि पनि हैन
म त्यो हुँ, जो मूल हो यी सबको
म त्यो शून्य हुँ, जो यो सृष्टिको शुरुवात हो ।।

तिमी मनुष्य, तिमि सित बुध्दि छ,
विचार छ, भाव छ, मन  छ र सरीर छ।
यी सब चलयमान छन्, परिवर्तनशील छन् ।
यी केवल मेरा सृष्टि हुन्, म हैन ।।

सरीर को पर्दा भित्र लुकेको छ मन ।
मन को पर्दा भित्र लुकेको छ भाव ।।
भावना को  तह पछि विचारको सीमा।
विचारको  पश्चात् बुद्दिको घेरा ।।

यी सबको मायाजाल चिर्छौ जब,
तब शुरुवात हुन्छ मेरो परिचयको यात्रा ।।
तिम्रो बुद्दिमा हल्का झुल्कने छन् मेरो प्रकाश ।
मधुर बिहानीको हल्का मिर्मिरे कीरण सरि ।।

तिम्रो जीवनमा उदाउने छ नयाँ आश ,
वसन्तको आगमनमा प्रकृति बदले सरि ।।
यस्तो आश्रय भेट्ने छ त्यो मनले,
जसमा एक पल स्थिर रहँदा, तिम्रा कयौ दुःख पग्लने छन् ।।

आँधीबेरीले ग्रसित समुद्रको बीचमा फसेको बेला।
एक साहाराको आश भेट्ने छौ तिमीले तब ।
हो, त्यो आश नै मेरो पहिलो संदेश हो तिमीलाई
म सम्म आउनको लागि प्रेरणा हो तिमीलाई ।।

यो  अनुभव नै मेरो प्रथम परिचय तिमीलाई,
त्यो  क्षण जुन शब्द जन्मन्छ, त्यो नै मेरो नाम तिम्रालाई।।








फूल

कसले भर्यो यी फूलमा रङ्ग?
नीलो, रातो यिनका अंग।
लहलह हावामा यी झुम्छन्
खुशीले भँवरालाई चुम्छन् ।।

कसले भर्यो यी फूलमा सुगन्ध?
छर्छन् सुवास यी मन्ध मन्ध ।
बोटमा हुन्जेल सबको मन हर्छन् ।
अन्तिममा प्रभुको चरणमा पर्छन् ।।

कसले भर्यो यी फूलमा कोमलपन?
स्पर्सले नै बन्छ आनन्दमयी मन।
नरमपनमा ह्रदय पग्लेर मिसिन्छ ।
फूलको सौन्दर्यमा ढुङ्गै पनि पग्लिन्छ ।।

मेरो नमन

शरीर च्याति जन्म दियाै, त्यो पनि मुस्कानको साथ,
छाती दुखाएर आहारा दियाै, त्यो पनि शीरमा राखी हात ।
मेरो हरेक गल्तिलाई मेरो अभ्यासको पाठ बनायौ,
मेरो मुर्खाईंमा पनि तिमीले मेरो  हात सधैं नै समायौं ।।

म भावनाको वेगमा बगी छटपटाउँथे,
तिमीले मलाई ती भावना लयमा पोख्न प्रेरित गरायौ ।
म समाजको नियमको भारमुनि  थिचिन लागेको अनुभव गर्थें ,
तिमीले मलाई ती भारलाई प्रयोग गरी यी काँध मजबुत गर्न सिकायौं ।।

म भित्र एक किसिमको व्याकुलता सधैं हुन्थ्यो,
तिमीले मेरो व्याकुलतालाई नै मेरो मार्ग-दर्शक  भनि चिनायौं ।
चाहानालाई संकल्प  अनि संकल्पलाई सत्य,
कसरी बनाइन्छ भन्ने एक गहन पाठ तिमीले सिकायौं ।।

प्रेरणा बन्यौ कहिले मेरो लागि, त  कहिले बन्यौ मित्र
गुरु बनी तिमीले सदैव गर्यौ, अवलोकन म भित्र ।।
तिम्रै अंश हूँ म, तैपनि तिमी विना सधै अधुरो  छ यो मन ।
जन्म दिनको शुभकामनाका साथ तिमिलाई छ मेरो नमन ।।

२०१९-०२-२६




युद्द


मातृत्वको संर्न्दभमा आँखै मात्र उठें पनि,
भूत र भविष्य दुवै मेरो हातबाट छुटें पनि ।।
वर्षे खोला झैं उर्लेर आँउछु, गाँऊ नै डुब्ने गरि
विनाशको गीत म गाँउछु, ठीक बेठीक भुल्ने गरि ।

दुख्ने घाऊमा औषधी लगाउँदा  पनि पोल्छ,
व्यक्तिगत चुट्किलाले विषै मात्र घोल्छ ।।
मैले हाँस्न भुलेको  भने कदापि पनि हैन ,
तिमी ममाथि हाँस्छौं, मैले हाँस्ने कुरा देखेकै छैन ।।

एक हातमा सम्झौता त एक हातमा भाला लिएर  ओर्लिए,
चाहे असल भन, चाहे खराब । उद्देश्यमा अब घोर्लिए ।।
आफ्नो सुविधा क्षेत्रबाट धेरै बाहिर अब निस्केर ,
आफ्ना अभिमानहरु सबैलाई सडकमा पस्केर ।।

जे जति आज सम्म जानेको थिए, जे जतिलाई मानेको थिए,
विधवाले सरि ती सब आफ्नो शरीरबाट एक पछि अर्को उतारी ।
केवल विश्वासको पोतैमात्र धरेर आफ्नो  रित्तो कण्ठमा ,
रित्ताउँदै छु म स्वयंले यति वर्ष लगाई भरेको भकारी ।।


 मकहाँ आयो परिस्थिती, मैले उसलाई अंगाले ह्रदय खोलेर ,
कति पूराना कुरा दबाई त कति घाऊलाई भुलेर ।।
परिस्थिति अब गर्न खोज्दैछ मेरो भविष्य निर्धारण,
मेरो परिवार र मेरो अस्तित्वको गरिकन समापन ।।

अहँ ! अब पुग्यो। अब धेरै नै हुने गरि पुग्यो ।
यो वर्षामा बाँध जति अब सबै टुट्यो ।।
मेरो जीवनको धागो अब राख्छु केवल मेरो हातमा ।
म अघि बढें; अब संसार हिंड्छ मेरो साथमा ।।

परिस्थिती बनाई अब फ्याँक; तिमी  चाहे जुनै जाल ।
एक हातमा ज्ञान रुपी मस्तिष्क त अर्कोमा विश्वासको ढाल ।।
युद्द भुमिमा म पनि ओर्लि सकें, अब म कमजोर हैन ।
म सत्यमा, सत्यको लागि लड्छु; छल मेरो रगतमा छैन ।।

समस्या र म

हारेको पलमा , लडेको दिनमा, पूरै भई घायल
वरपरको मानिस अनि परिस्थितीबाट आयल-कायल ।
कहीं जब कुनै देखिएको थिएन उज्यालोको स्रोत
ह्दय चोटले ग्रस्त भई रगतमा पूरै हुँदा ओत-पोत ॥

भविष्य हेर्ने शक्ति नभई, बितेका पल तिर लागें
एकपछि अर्को पन्नाहरु पल्टाउँदै गुनगुनाउन लागें ।
समस्या कति कति मेरा जीवनमा हरेक मोडमा
कति पटक म चिच्याए घाऊ र पींडाको तोडमा ॥

समस्या हर पटक पहिलेको भन्दा सबल
हतियार हरेक पटक उसका अझ प्रबल ॥
हर पटक मैले चोट पनि पाएकै हो
हरेक पटक आँसु रुपी संसार धाएकै हो ॥

तर सबैभन्दा ठूलो सत्य यो  छ,
हर पल्ट लडेपछि म उठें, जुटे, अनि दुःखैलाई लुटें ॥
सबैभन्दा ठूलो सत्य यो पनि छ
हर पल्टको लडाईंपछि आफूलाई अझ सुन्दर भेटें ॥

सोचको लडाईं, विचारको लडाईं, समाजको लडाईं
चेतनाको लडाईं, निरर्थक लडाईं, सार्थक लडाईं ॥
लडाईं हर मोडमा आउथ्यो आफ्नो परिभाषा बढाईं ।
बोल्न सिपालु, हर कुरालाई भन्थ्यो बढाईं चढाईं ॥

म हिजो पनि यहीं थिएँ, आज पनि यहीं
हरपल यो सोच्न खोज्दै के गलत के सहीं ?
हर-पटकको युद्धमा जीत मेरै थियो,
अन्तिम वाक्य- जे भयो राम्रै भयो ॥

यो क्षण पनि त्यही लडाईंको अर्को अंग
यसपालिको चोटको अनुभव गर्छ अन्तरंग ॥
तर सत्य यही छ की जीत मेरो नै हुन्छ
जीतको ध्वनिले पनि आत्मालाई छुन्छ ॥

मेरो क्षमताको मैले नै नयाँ रुप अब देख्छु
पहिलेको गर्जन भन्दा बलियो गर्जन सुन्छु ॥
यो घस्रणपछि म हुन्छु  हलुका प्वाँख सरि।
माथि उड्नको लागि  धर्ती छोड्नु छ प्रयास गरि ॥

विश्वास छ आफूमाथि रित्तै भए पनि यो क्षण
आफैं प्रज्वलित हुने शक्तिको म  हुँ प्रत्यारोपण ॥
अनुभव कमजोरीको छ, तर परिस्थिति भन्दा ठूलो मेरो परिभाषा
ब्रम्हाण्ड मेरो साथमा लागिसक्यो, शत्रुको जे होस् पासा ॥

श्रीरामरक्षास्तोत्र पाठ (नेपालीमा)

॥ध्यान॥
 
दिव्य हातमा धर्नुवाण धारण गरी, पद्मासनमा मेरा श्रीराम  बद्ध ।
पहेंलो  वस्त्र  शरीरमा त कमल फक्रदाको सौर्न्दय अंकित नेत्र प्रसिद्ध ॥
मेघरुपीको देब्रेमा सिताजी त उनैको कमलरुपी मुहार आँखामा धरी ।
सुन्दर गहनाले सज्जित, आकर्षित् जटाधारी श्रीरामलाई ध्यानमा भरी ॥

॥ध्यान सम्पूर्ण ॥


सय करोड शब्दै पनि अपुग; रघुनाथ चरित्र वृस्तारमा ।
जसको एकै शब्द प्रबल; भयंकर महापाप संहारमा ॥१॥

ध्यानैमा मेरा नीलकमल वर्णरुपी, कमल नेत्र धरित श्याम ।
शिरमा जटाको मुकुट धरी, जानकी र लक्ष्मण सहित राम ॥२॥

हातमा तलवार,ठाक्रो र धर्नुवाण बोकेका राम धर्छु म मनमा ।
स्वयं लीला गरि, जगत रक्षाको लागि अवतरित हे अजन्मा ॥३॥

पाप नाशी, सर्व कामना प्रदायनी, रामरक्षा पाठ गर्ने यो इच्छा ।
राघवले यो शिरको त निधारको दशरथ-पुत्रले गरुन् रक्षा ॥४॥

कौशल्या-पुत्र यी नेत्र तिम्रो शरणमा; विश्वामित्र-प्रिय! कर्ण तिम्रो चरणमा ।
नासिकाको रक्षा यज्ञ-रक्षकद्धारा,  यो मुखको संरक्षक सुमित्राका प्यारा॥५॥

जिब्रोको रक्षा गर विद्यानिधी! कण्ठको रक्षा गर भरतवन्दित  ।
काँधको रक्षा गर दिव्य-शस्त्र-धारी , पाखुरा शिवधनु भाँच्ने सितप्रीत ॥६॥

हात यी सीतापतिको भरमा, ह्रदय जमदग्नि पुत्र विजयीलाई ।
पेटको रक्षा गर ए खर-ध्वंसक; नांभि जांबवान रक्षकलाई ॥७॥

कम्मरको रक्षा गर सुग्रीवका स्वामी अनि नितम्ब, हनुमान-इष्ट ।
तिघ्राको रक्षा रघुश्रेष्ठद्धारा जसले गरे राक्षस कुल पूर्ण नष्ट॥८॥

घुँडाको रक्षा गर सेतुपुल निर्माता ; गोडा उनले जसले काटे दशानन शीर ।
चरण रक्षा गरिदेऊ विभिषणका उद्धारक त समर्पण गर्छु श्रीरामलाई शरीर ॥९॥

सुकृति कर्ता जसले गर्छ रामबलले परिपूर्ण स्तोत्र पाठ ।
चिरायु, सुख, पुत्र, विजय, विनय सबै उसको साथ  ॥१०॥

पाताल, पृथ्वी र आकाशका कुनै विचरक या मुखौटा धारी ।
राम नामले सुरक्षित मनुष्य सदा यिनको दृष्टिबाट कोशौं पारि ॥११॥

राम, रामभद्र, रामचद्र स्मरण गर्ने ती सब व्यक्ति ।
पापमा हुनन् लिप्त, गर्छन् भोग र मोक्ष प्राप्ति ॥१२॥

जगत विजयी 'राम-नाम' मन्त्र अंकित यो पाठ।
कंठाग्र गर्दछ जसले सिद्धी सबै उसैको साथ ॥१३॥

वज्रपंजर नामक रामकवचको जो कसै गर्छ स्मरण ।
जय मंगलका साथ लोक सदैव ग‍र्छ उसको आज्ञा ग्रहण ॥१४॥

भगवान शिवले स्वप्निमा रामरक्षाको जस्तो दिए आदेश ।
प्रातः काल महाज्ञानी बुधकौशिकले त्यस्तै लेखे विशेष ॥१५॥

कल्पवृक्ष समान दिई आराम, सबै विपत्तिको गरि विराम ।
तिनै लोक भरिमा सुन्दर अति, हाम्रा प्रभु श्रीमान् राम ॥१६॥

तरुण, रुपले सम्पन्न, सुकुमार, सुन्दर अनि महाबलशाली ।
कमल समान विशाल नेत्र त शरिरमा कालो मृगको चर्म हाली ॥१७॥

फल मूलको आहार गर्ने, धैर्यशाली, तपस्वी, ब्रम्हचारी ।
रक्षालाई पुकार गर्छु  मनमा दशरथ-पुत्र राम-लक्ष्मण भरी॥१८॥

सर्व प्राणीका शरण दाता, धर्नुधारीमा पनि श्रेष्ठ ।
सम्पूर्ण राक्षस कुलको अन्त्य गर्ने रघुत्तम उत्कृष्ट ॥१९॥

हातमा  बाण अंकित धनुष  अनि अक्षय तेज बाँण सहितको ठाक्रो ।
 मेरा मार्ग दर्शक श्रीराम र लक्ष्मण विना म  पूर्ण खोक्रो ॥२०॥

सदैव तत्पर , कवचधारी,खड्गधारी,धनुष-बाण धरेका युवक।
राम सहितका लक्ष्मण प्रभु, हटाई दुःख बनिदेऊ पथ-प्रदर्शक॥२१॥

श्रीराम, दाशरथी, बली अनि लक्ष्मणमका अगुवा, रघु कुलका उत्तम ।
काकुत्स्थ वंशज, पूर्ण, कौशल्याका प्यारा, शुरवीर, पुरुषोत्तम ॥२२॥

वेदान्तका ज्ञानी, यज्ञका ईश, पुराण, पुरुष, श्रीमान राम।
जानकीका प्यारा, असीम पराक्रमी आदि तिम्रा पहिचान ॥२३॥

श्रद्धासाथ गर्छ जसले यी नामका  जप  दिन दिनै ।
अश्वमेध यज्ञभन्दा बढी फल उसलाई शंका-विनै ॥२४॥

दुबोको पात सरि सुन्दर पवित्र रोगन,कमल नयन,पहेलों वस्त्र धरी।
यी नामको स्तुति मात्रले मानिस सहजै मुक्त भवसागर तरी ॥२५॥

रघुकुलका राम-लक्ष्मण, सुन्दर सीताजीका प्रिय स्वामी।
काकुत्स्थ कुलका करुणा सागर, गुण धनी, साधु सन्त बीच नामी ॥
धार्मिक, सत्यवान राजा, दशरथ-पुत्र, सुन्दर, शान्त, रघुकुलका दीप।
रावणका शत्रु ए राघव! स्वीकार यो भक्ति रही मेरो ह्दय समीप ॥२६॥

राम, रामभद्र, रामचद्र, महाज्ञानी करुणामय ।
सीताजीका स्वामी, रघुनाथ, रामजीको जय ॥२७॥

श्रीराम राम  रघु-पुत्र राम राम
श्रीराम राम  भरत-भाइ राम राम
श्रीराम राम युद्द-वीर राम राम
श्रीराम राम शरणमा आएँ राम राम ॥२८॥

श्रीरामचंद्रको चरण यो मनमा धरी
श्रीरामचंद्रको चरण शब्दद्दारा लयमा भरी ।
श्रीरामचंद्रको चरण आफ्नो शीरमा सजाई
श्रीरामचंद्रको चरणमा शरणागत हुँदै रमाई ॥२९॥

माता मेरा राम,पिता रामचन्द्र ।
स्वामी मेरा राम, साथी रामचन्द्र ।
दयालु रामचन्द्र नै सर्वस्व म मान्छु ।
उनी बाहेक न कोही, न केही म चिन्छु ॥३०॥

दाँया लक्ष्मण, बाँया जनक पुत्री सीता
सामुन्ने हनुमान सहित रघुपुत्र ह्रदयमा सीधा ॥३१॥

लोकका प्रिय, रणभूमिका वीर नायक
कमल नयनी, रघुवंशका पुत्र-लायक ।
करुणारुप ए करुणाका खानी ।
शरणमा आएँ म, तिमी नै सर्वस्व मानी ॥३२॥

मन सरह तेज, वायु सरहको वेग
इन्द्रियहरुका स्वामी, बुद्दिमानमा वरिष्ठ ।
हे वायुपुत्र, ए वानरराज! श्रीरामका प्यारा ।
तिम्रो शरणमा पर्छु, देऊ मलाई साहारा ॥३३॥

राम नामलाई कोइली आवाजमा मीठो सुन्दर अक्षरले बुने
कोइली बनी कविता रुपी शाखामा महान् बाल्मिकीले उने ॥३४॥

सबै सुख सयल दिन्छौ, गरि मुश्किलको दमन
लोकका प्यारा श्रीरामलाई गर्छु धेरै धेरै नमन ॥३५॥

लोकप्रतिको आसक्तिको गरि समाप्ति, सुख सम्पतिको गराई प्राप्ति
यमदूत सब तर्सन्छन्, राम नाम जब जगमा गुन्जन्छन् ॥३६॥

राजामध्येमा मणी राम, सदा विजयी 'राम-रमेश' भज्दै
अन्धकार  असुर-नाशक, रामलाई, यो ह्रदयमा राख्दै ।
राम नै अन्तिम गन्तव्य जानी आज यो दास ।
सम्पूर्ण चित्तमा राम धर्छु, उद्दारको राखी विश्वास ॥३७॥

राम-राम जप्दै, मनै रमाउने राम नामले शिवजी पनि सुखी ।
गौरीलाई भन्छन्, "हजार नाम तुल्य एक राम नाम, सुमुखी!" ॥३८॥

 ........श्री बुधकौशिकद्दारा लिखित रामरक्षास्तोत्र रुपी भक्ति दर्पण
..........सच्चा ह्रदयले श्रीसीतारामचन्द्रको चरणमा गर्छु अर्पण ॥

हनुमान चालीसा

लेखक- तुलसीदास
(नेपालीमा- मेरो बुझाई)
चरण-कमलको धूलोले श्री गुरु! मनको ऐना सफा गर्छु ।
जीवनका चार-फल दिने, रामबन्धु यशले ह्रदय भर्छु ॥ 
बुद्धिहीन मलाई ठानी, हे सर्वोत्तम पवन कुमार ।
बल बुद्धि विद्या देऊ, हटाई सब बन्धन विकार ॥
 

ज्ञान गुणको अनन्त सागर जय हनुमान ।
तीनै लोक उजिल्याउने सूर्य रुपीलाई प्रणाम ॥१॥

रामको प्रिय दूत तिमी, अतुलनीय बल धामी।
माता अञ्जनी, पिता पवन त श्री राम स्वामी ॥२॥।

शरीर तिम्रो बजरंग ‍बलवान, विक्रमी तिमी महाबीर।
नकरात्मकताको अन्त्य गरी, ज्ञानले हर्छौ सब पीर ॥३॥

सुनौलो तेजका साथ सुन्दर पहिरनमा तिमी विशेष।
कानमा कुण्डल त आकर्षित् घुम्रेको केश ॥४॥

नाम र प्रसिद्धी अंकित झण्डा र बज्र धरेको हात ।
पवित्र कुशको जनै भिरेको, बलियो तिम्रो काँध ॥५॥

शंकरको रुप तिमी त केशरीका प्रिय नन्दन ।
तेजिला, प्रतापी महाबीर ! सर्वलोक गर्छ तिम्रो वन्दन ॥६॥

विद्याको खानी, गुणको भण्डार त चातुर्यको बाढी ।
ए महाबीर! राम काजका निमित्त तिमी सधैं अगाडी ॥७॥

प्रभु राम चरित्र सुन्न तिमी हरपलै प्यासी ।
राम, लक्ष्मण, सीता सम्पूर्ण रुपले मुटुमा टाँसी ॥८॥

सुक्ष्म रुप धरी माता सीतालाई तिमीले भेट्यौ ।
भयङ्कर विशाल रुप धरी लङ्का अग्निमा भुट्यौ ॥९॥

भीम रुपमा हरण गर्यौ तिमीले कयौं असुरको ज्यान ।
श्री रामको उद्देश्य पूर्तिमा, तिम्रो ठुलो योगदान ॥१०॥

सञ्जिवनी लिई आयौ, लक्ष्मणको प्राणका लागि ।
श्रीराम हर्षमा विभोर, तिमीलाई आलिगंनमा बाँधी ॥११॥

रघुपति मुस्काए तिम्रो प्रशंसाको मधुर गीत गाई ।
भरत सरह नै तिमी पनि प्रभुको प्यारो भाइ ॥१२॥

हजार मुख धर्नेले पनि तिम्रो गाउन् यश ।
तिमी तर्फ बढ्दै, श्री रामले वर्षाए आशीस रस॥१३॥

सनक, ब्रम्हा मुनीहरु सबै मिलेर पनि ।
नारद, शारदा तथा शेषको हजारौं मुखैले भनी ॥१४॥

 यम ,कुबेर दिगपालले पनि सकेनन् गाउन यश ।
कवि, विद्धानको शब्दले भर्न सकेन मीठो रस॥१५॥

सुग्रीवमाथि गर्यौ उपकार तिमीले सारा ।
राजा बने राज्यको, राम कृपा द्धारा ॥१६॥

तिम्रै मन्त्रको ह्रदयमा  सजाई आभूषण ।
लोकको सामु लंकेश्वर भए विभिषण ॥१७॥

भानु-देव कोशौं टाढा बस्दा पनि ।
निल्यौ तिमीले  उनलाई फल ठानी ॥१८॥

प्रभुको औंठी मुखमा समाई ।
 सहजै तर्यौं समुद्रको गहिराई ॥१९॥

सब सुख साकार हुन्छ तिम्रो शरणमा आई।
सब मुश्किल सुल्झन्छ सहजै,तिम्रो छहारी पाई ॥२०॥

तिमी रामका द्धार पाल, तिमी विना केही चल्दैन
तिम्रो आज्ञा विना यो द्धार कसैलाई खुल्दैन ॥२१॥

जहाँ रक्षक तिमी त्यहाँ छैन कुनै डर ।
 तिम्रै शरणमा सुख सब गर्छु अर्पण ॥२२॥

तिम्रो शक्ति तिमीले नै समाल्छौ ।
एक गर्जनले तीनै लोक उचाल्छौ॥२३॥

भूत-पिशाच सब किनारा लाग्दछन् ।
महाबीर नामैले  यी  भाग्दछन् ॥२४॥

हर्छौ रोग, पींडाबाट दिलाई छुट्कारा ।
बीर हनुमानको  निरन्तर जप मै सहारा ॥२५॥

हनुमान नामै पनि संकट माथि छ भारी ।
मन-कर्म-वचन सहित ध्यान  उनैमा हाली॥२६॥

सबै भन्दा माथि तपस्वी राम ।
उनको कार्य भित्रको तिमी ज्यान ॥२७॥

अभिलाषा जति छन् सबै पुर्याई ।
अनन्त जीवन-फल दिलाई ॥२८॥

चारै युग यहाँ तिम्रो  प्रताप सजाईं ।
उज्यालिएको छ जगत प्रसिद्धिको ज्योति पाई ॥२९॥

असुर नासक, ए रामका प्यारा ।
साधु-सन्तको तिमी एकै सहारा ॥३०॥

जानकी दिइन् आसीश तिमीलाई पुत्र मानी।
अष्ट सिद्धी र नौ निधिको तिमी स्वामी ॥३१॥

राम नाम रुपी रसको तिमी धनी ।
चिनिन्छौ उनैको  प्रिय सेवक भनी ॥३२॥

राम प्राप्तिको मार्ग नै तिम्रो भजनको
जन्म जन्मको दुःख बिर्साउँछ मनको ।।३३।।

अन्तकाल राम राज्यमा गई ।
नयाँ जन्ममा राम-भक्त भई ॥३४॥

चाहिन्न अरु कोही  यो मनमा ।
हनुमान भक्ति सुखदायी जीवनमा ।॥३५॥

सब संकट हट्छ, नासिन्छ सब पीर ।
जहाँ सम्झनामा छन् बल-बीर ॥३६॥

जय जय जय हनुमान ।
कृपा गर गुरुदेव समान ॥३७॥

सय पल्ट पाठ गर्छ जो ध्यान लगाई।
छुट्छ सब बन्धन महा सुख पाई॥३८॥

हनुमान चालीसा पढ्छ जो मनमा उनलाई सजाई
सब सिद्धी प्राप्त हुन्छ; स्वयं शिव साक्षी बनाई ॥३९॥
 
तुलसीदास, ऋचा अनि सबको यहीं छ प्रभु आश ।
रामको साथ रहे झैं, मेरो ह्रदयमा नि गर बास ॥४०॥

हे पवन पुत्र! संकट हर्ता; मंगलकारी स्वरुपले तिमी नामी ।
राम लक्ष्मण सीता सहित; मेरो ह्रदयमा बस देवताका स्वामी ॥

जाग ए शक्ति ...

जाग ए शक्ति, जाग अब, गर्जेर जाग, चम्केर जाग
जाग ए शक्ति, मभित्रको शक्ति ......
तोड यो निद्रा, तोड यो मौनता, वर्षेर जाग, वेगमा जाग
जाग ए शक्ति, मभित्रको शक्ति ......

शान्त थियौं, चन्चल थियौं, पुत्री रुपमा तिमी
सुक्ष्म थियौं, सुसुप्त थियौं, नारि रुपमा तिमी ।
कर्तव्यमा रक्ताम्मे थियौं, पत्नी रुपमा तिमी,
ममताले मदमत्त, मातृ रुपमा तिमी ।।

तर अब जाग,  जाग ए शक्ति, आँधी बेरि सहित जाग ,
 आफ्नो निम्ति हुँइकिएर जाग ।।
तोड यो बन्धन, छोड यो  तन-मन् ,
महा-शक्ति, प्रकृति बनी सुधारको लागि जाग ।।

शरिर भित्र ताप बनि छरिएको तिमी,
नशा भित्र तरल बनी बगिरहेको तिमी,
मन भित्र विचार बनी खेलिरहेको तिमी ,
शरिरको भित्रि कोशमा ज्योति बनी बलिरहेको तिमी ।।

बटुल आफूलाई, जुटाऊ आफूलाई,
जागृत रुपमा आऊ तिमी अब ।।
मभित्रको ए महा-शक्ति ! जाग अब,
आफ्नो निम्ति विश्वासका साथ जाग अब ।।

ऋतु बनी बदलिरहेको तिमी ,
निशा-उषा बनी खेलिरहेको तिमी ।।
माटो बनि लोकलाई पोसिरहेको तिमी ।
धर्ती बनी हर पींडा सोसिरहेको तिमी ।।

सबलाई बोलाऊ, सबको ममा गर  संगम
म मेरो रुप धर्छु, पुर्णताको  होस् आगमन ।।
जाग शक्ति, जाग अब, सूर्योदयको  आयो घडी ।
विगुलको आवाज गुन्जियो, जित्नू छ युद्द लडी ।।

मभित्रको महा-शक्ति जाग ! जाग अब !
अधर्म माथिको धर्म जीतको नयाँ कथा छ लेख्नू ।
मभित्रको महा-शक्ति जाग! जाग अब .....
कुविचारको घडालाई, ज्ञान र विश्वासले छ पोख्नू ।।

 

प्रकृति

कहीं कति कडा प्रकृति, कही कस्तो नरमी ।
कहीं शीतल शान्त त कही प्रचण्ड गर्मी ।।
तिम्रो बदलिंदो रुप, खै के को हो ईसारा ?
तिम्रो प्रचण्डता भोग्नेलाई,खै के छ साहारा ?

माता मान्छ लोकले त किन सन्तानमा भिन्नता ?
कसैलाई ममताको छाया त कसैको भागमा खिन्नता ।।
कही तिमी आफ्नो अति सुन्दर रुपमा स्थापित
कही अलिकति पनि वर्षेन;  किन तिम्रो प्रीत ??

के कथा वा ज्ञान छ लुकेको यो विविधतामा ?
खै कुन माया अंकित छ यो असमानतामा ?
प्रकृति; हरपल यो खेलमा तिमी छौं अगाडि  ।
कहीं आफ्नो पूरै दृष्टि त कहीं हेर्दिनौ फर्की पछाडि ??

यो तिम्रो माया गर्ने तरीका हो या रिस पोख्ने बाटो ?
आमा हौं तिमी पनि, यो कडापन किन मायाको साटो ?
तिमी हाँसेको हेर्न, सन्तानको मन पनि तड्पन्छ ,
आमा खुशी होऊ भनि, ह्रदय हरपलै भन्छ ।।

यो रिसबाट निस्क अब, यो विषबाट निस्क अब,
तिम्रो हाँसोको प्रतिक्षामा  तड्पिसके संसार अब ।
तिमी पनि कर्तव्यको मारमा होलाऊ, न्यायको भारमा होलाऊ ,
के सही, के गलतको जटिल  ढोकारुपी सँघारमा होलाऊ ।।

तर अब सबले तिम्रो शान्त रुप देखून्, तिम्रो वात्सल्यको अनुभूति पनि ।।
सबैलाई समान व्यवहार सहित पूराना कुरा बिर्सिदेऊ त्रुटि भनि ।
प्रकृति तिमी; सबको निम्ति माया बोकी फर्की आऊ ।।
आफ्नो सुन्दर सबल रुप धरी यो; सम्पूर्ण  लोकमा छाऊ ।।