निशा यो अदभूत् आज; सामुन्ने आएर बस
थोपा थोपा खनाई पिलाउने छु, प्रीतिको रस ।
कोमल यी पाउ आज, माओरले छन् रंंगिएका
माओरका बुट्टा भित्र, एक रंगीन गाथा कुदिएका ।।
सुस्तरी औंलाले यिनको बुट्टा छोएर त हेर,
यिनका कलात्मक संदेश बुझेर त हेर ।।
निशा यो अदभूत् आज, मनको पर्दा उघार,
कण कणको भेटी चढाउने छु, केवल, तिमी स्वीकार
पाउमा बाँधिएका लहरे पाउजुप, लयले छन् भरिएका
ह्रदयको स्पन्दनलाई व्यक्त गर्न, यिनलाई जुटाइएका ।
सुस्तरी कर्ण लेराई, यिनको गीत सुनेर त हेर
मधुर भावमा लोत पोत, यिनको भाकामा झुमेर त हेर ।।
निशा यो अदभूत् आज,थोरै नजिक आऊ
धैर्यको बत्ती बालेकी छु, चाहानाको दीप जलाऊ
गुलाबको पंखडी सजित जलमा स्नान गरेका हर कोश
यिनको सुवासमा लुब्ध हुने भँवराको के दोष ?
लामो सासद्बारा यो सुवास फोक्सो सम्म तानेर त हेर
यिनको वासनाको आकर्षणमा एकपटक बहेर त हेर।
निशा यो अदभूत् आज,सब बन्धन फुकाइदेऊ
शंकारुपी कारागारबाट आफूलाई छुटाइदेऊ ।
मोही छाडी नौनी निस्कन्छ आरीभित्र मदानीको घंश्रणमा
सम्पूर्ण रुपमा पग्लेको नौनी, आज यस चरणमा ।।
ह्रदय खोलेर यो नौनी, हत्केलामा राखेर त हेर
जिब्रोमा सहजै पग्लने, यो भेटलाई चाखेर त हेर ।।
सुन चाँदी सब यहाँ आसनमुनि दबाई आएकी
शक्ति संकल्प हत्केलामा राखि छु ल्याएकी
हामी दुई बीचको दबाल ढाल्ने औंजार छ हातमा
मिलनको विगुल बजाउने बादक पनि साथमा ।
एक पाइला तिमी पनि म सितै चालेर त हेर,
जुन आगोमा म दन्केकी छु, त्यही तापमा बलेर त हेर ।
निशा यो अदभूत् आज, यसभित्र पौडिएर त हेर
छोटो छ जीवन, अड्चन छन् धेरै, बन्धन तोडेर त हेर ।।