जन्मभूमि र कर्मभूमि - मेरो एकै भएन,
वर्षौ भयो छोडेको, माया मनको गएन ।
जन्मेको भूमि नेपाल नै हो, बोलेको भाषा नेपाली,
रगतमा मेरो नेपालीपन, आँखामा उकाली-ओराली ।
स्वादे छ जिब्रो- कल्पन्छ अझ गुन्द्रुक र भातलाई,
स्मृतिको आँगनमा, मन्दिरको घण्टाले बोलाउछ मलाई ।।
'गरि-खाने' नाममा हेर, लम्किएछु म धेरै अगाडि,
फर्केर हेर्दा विकासको लाममा, मातृभूमि अझैं पछाडि ।।
आजको कालमा फैलिएको छ प्रपञ्च विकराल,
जन्मभूमिबाट सन्तानलाई फुस्लाई लग्ने अदृश्य जाल ।
म एक हैन, मेरो जन्मभूमिबाट विदेशिए सन्तान लाखौं लाख,
कतै हामी सबको विछोडमा रुष्ट त भएन हाम्रो आमाको काख ?
आफूले बामे सरेको भूमि, जोत्न सकिनँ; छातीमा बोकेकी छु भार,
मनको एक कुनामा दायित्व, अर्को कुनामा समयको मार ।
पक्की सडकमा बदलिन सकिनँ, आफू हिड्न सिकेको गोरेटोलाई,
रुप र पहिरन बदलिए पनि, भुलाउन सकिनँ सुरुवाल-भोटोलाई ।
अर्पण मैले केही गर्न सकिनँ, मनमा साँचेकी छु ठूलो उधारी
सिंचेर मलाई हुर्काएकी भूमि, बेला-बखत मनसपटलमा हेर्छु उघारी ।
विडम्बना ठूलो मेरो, जन्मभूमि र कर्मभूमि एकै भएन
समयको ओखती लाउँदा पनि, यो मनको घाऊ भरेन ।।
No comments:
Post a Comment