म विश्व हॅु, म व्यक्ति हैन,
म मुहान हॅु; कुनै अभिव्यक्ति हैन ।
स्वतन्त्र छु म; शरीर मैले धरेको,
छाडी पनि दिन्छु; हाललाई, कर्म गरेको ।
म पूर्ण हरदम ; मेरो अंग हो ऊ,
मेरो रूप छैन, मेरो प्रतिरूप ऊ।
मनको म सिमा हैन; मेरो सिमा छैन,
ज्ञान मबाट बग्छ, मलाई व्यक्त गर्ने ज्ञान छैन ।
वायु हॅु म, बतास हॅु म,
कीरण हॅु म, सुवास हॅु म ।
कुनै प्रश्न छैनन् मसित अनुत्तरित,
न भविष्य छ न मेरो कुनै अतीत ।
प्रतेक पल म पूर्ण, प्रतेक क्षण पूरा,
शरीर मेरो हैन यो; मनको के कुरा ।
अन्नत छु; अन्नत हॅु, पानीको रूप,
जेमा हाल्छौं, जेमा हेर्छौ उसैको प्रतिरुप ।।
No comments:
Post a Comment