खोलेर ढोका निस्कन्छू छिटो, खेल्नलाई हतार भो ।
पर्खेको साथी बाहिर चोकमा - घडीमा ठ्याक्कै 'चार' भो ।।
फ्याँकेर झोला , टिप्दै खाजा बडेमाको गाँसमा ।
साथी भेट्ने जमर्को- बाटुली चोकको घाँसमा ।।
केटा-केटी ! ख्याल- ठट्टा- हा,हा र हु, हु सधैं झैं ,
जिस्कने र जिस्काउने; हामी, निर्धक्कै भै ।।
बेफिक्री जीवन, चिन्ता न कुनै घर बाँसमा।
साथी भेट्ने जमर्को- हरदिनै, बाटुली चोकको घाँसमा ।।
पीङमा मच्चि; चउरमा थच्ची, हिलोमा रंगीई ।
पसिनाले भिजी, पानीमा रुझी, घाममा सेक्किई ।।
नयाँ छुट्छन् बेजोडले खित्का, हर सासमा,
हर दिनै मेरा साथी भेटिन्छन्, बाटुली चोकको घाँसमा ।।
कसैको खल्तीमा चना, कसैको पोल्टामा काफलको गेडा।
मेरो निम्ति भनि कोही बचाई लेराउँछन् -आँधा टोकेको पेंडा ।।
साथी, संगीको माया त्यो गडेको - ह्रदयको मेरो हर आभासमा ।।
सधैं बाटो कुर्छन् मेरा मित्र, बाटुली चोकको घाँसमा ।।
कोही हुन्छन् आतुर - आफूले सुनेको कथा सुनाउन,
कोही हुन्छन् व्यग्र, नयाँ पोशाक देखाउन ।।
आफू आफूमा बाड्न; मुस्कानै भए पनि हुन्छ सबको साथ ।
मेरा सबै साथीलाई समेट्ने, त्यो, बाटुली चोकको घाँस ।।