कसको भयो हार यहाँ? कसको भयो जीत?
दुवै आखिरमा पुगिहाले मृत्यु समीप ।।
मरेर जाँदा हार्नेले केही लगेन, जित्ने पनि रित्तै,
जित्ने हार्ने दुवैले, अन्त्यमा, मृत्यु पाए सित्तै ।।
शुरु शुरुको सानो मनमुटाव, तेरो-मेरोको शुरुवात
हातमा सानो जीवन अनि छातीभरि लिई द्वेष ,
रागजति सबै रगत बनि पोखिए, जीवन पनि भयो रित्तै,
जित्ने हार्ने दुवैले, अन्त्यमा, मृत्यु पाए सित्तै ।।
जीवन न त केवल सुख हो, न त केवल दुःखै मात्र ,
तर सुख समात्न दुःख छल्लाउने सबको भरपूर प्रयास ।।
यो दुःख र सुखको होडबाजीमा सबको हात सधैं रित्तै ।
जित्ने हार्ने दुवैले, अन्त्यमा, मृत्यु पाए सित्तै ।।
लडाईं सधैं गलत नहोला, तर कुन कुरा प्राण आहुति योग्य छ त?
कुन त्यस्तो स्वार्थ छ जुन जीवन भन्दा पनि भोग्य छ त?
सायद, जीवन आहुति योग्य कारण विना - लडाईं सब रित्तै,
जित्ने हार्ने दुवैले, आखिरमा, मृत्यु पाउँछन् सित्तै ।।
नयाँ पुस्ताको जीवन सिंगारिन्छ, यदि मेरो जीवनको आहुतिले
यदि कहिको अन्धकार नासिन्छ, सधैंलाई, मेरो चिताको ज्योतिले ।।
तब सायद त्यो लडाईको अर्थ होला केही हदसम्म पुष्टि ,
धेरै जटिल छ स्वीकार्न, लडाईं, जसले विनास्छ सृष्टि ।।