Khalti Ko Prasanga

बाटुली चोक

 खोलेर ढोका निस्कन्छू छिटो, खेल्नलाई हतार भो ।

पर्खेको साथी  बाहिर चोकमा - घडीमा ठ्याक्कै 'चार' भो ।।

फ्याँकेर झोला , टिप्दै खाजा बडेमाको गाँसमा ।

साथी भेट्ने जमर्को- बाटुली चोकको घाँसमा ।।


केटा-केटी !  ख्याल- ठट्टा- हा,हा र हु, हु सधैं झैं ,

जिस्कने र जिस्काउने; हामी, निर्धक्कै भै ।।

बेफिक्री जीवन, चिन्ता न कुनै घर बाँसमा।

साथी भेट्ने जमर्को- हरदिनै, बाटुली चोकको घाँसमा ।।


पीङमा मच्चि; चउरमा थच्ची, हिलोमा रंगीई ।

पसिनाले भिजी, पानीमा  रुझी, घाममा सेक्किई ।।

नयाँ छुट्छन्   बेजोडले खित्का, हर सासमा,

हर दिनै मेरा साथी भेटिन्छन्, बाटुली चोकको घाँसमा ।।


कसैको खल्तीमा चना, कसैको पोल्टामा काफलको गेडा।

मेरो निम्ति भनि कोही बचाई लेराउँछन् -आँधा टोकेको पेंडा ।।

साथी, संगीको माया त्यो गडेको - ह्रदयको  मेरो हर आभासमा ।।

सधैं बाटो कुर्छन् मेरा मित्र, बाटुली चोकको घाँसमा ।।


कोही हुन्छन् आतुर - आफूले सुनेको कथा सुनाउन,

कोही  हुन्छन् व्यग्र, नयाँ पोशाक देखाउन ।।

आफू आफूमा बाड्न; मुस्कानै भए पनि हुन्छ सबको साथ ।

मेरा सबै साथीलाई समेट्ने, त्यो, बाटुली चोकको घाँस ।।

पाँच दिन- कथाकारको डायरिबाट

दिन- १

तातो  चियाको गिलास,

प्रत्येक चुस्कीमा अलिकति चियाको बास्ना,

थोरै चिनीको मीठास  र पत्तीको हल्का स्वाद ।

हातमा एक कलम अनि आधा लेखिएको  एक पन्ना ।।

आँधी पन्ना टम्म , तर, कथाले रुप अझैं समात्न  बाँकी ।

एक शब्द कोरी- फेरि ! घण्टौं स्तब्ध..............

पन्ना अझैं आधाँ बाँकी- तर,

        छेऊमा एक रित्तिएको चिया गिलास ।।

दिन- २

तातो चिया, स्टिलको गिलास,

लागेको चिसो मार्न; अदुवाको पिरो स्वाद ।

हल्का चिनी र  पत्तीको हल्का बासना ।।

उही आफ्नो कलम र  आधा लेखिएको  पन्ना ।

आज कथामा नयाँ पात्रको प्रवेश हुँदै छ, अलिकति उष्णताको लागि ।।

साधारण जीवनको कथा थोरैले रुचाउछन् ।

समय-कालको माग चडक-भडक मै छ ।।

        चियाको मीठास पनि उष्णतामै छ ।।


दिन- ३

निद्रा मार्न आज ठुलो कपमा चिया ,

लामो रातमा चियाको साथ पनि लामै रहोस् ।

हातमा कलम अनि पल्टिएको नयाँ पन्ना ।

आज कथा अलि अघि बढाउनू छ ।

हिजोको  उष्णताको प्रयोग गरि दुई पात्रलाई भिडाउनू छ।।

            ठूलो कपको चिया- हेर्दा ठूलो भाँडो

                 तर मुनि मुनिको चिया सेलाउने चाँडो ।।


दिन- ४

 आज बिहानै दूध फाट्यो ।

कालो चिया छ आज- थोरै चिनी र रंग हाली ।।

हातमा कलम अनि सामुन्ने कथाको उताव चढाव ।

कथा रंगिन बनाउन भिंडेका हिजोका पात्र -

        आज पींडाको कालिकमा लोतपोत।।

असल जीवनमा भन्दा कथामा प्रायश्चित र माफी दुवै सजिलो।

वास्तविक जीवनमा त  यहाँ चिया पनि सधैं एकै रंगको भेटिंदैन ।।


दिन- ५

दुई कप तातो चिया ।

चियाको  चुस्की सितै- आज साथीको साथ ।

मीठो वार्तालाप अनि कथाको प्रसंग।

हिजोका  बदलिंदा  दिन पछि;

 कथाकारको  जीवनमा आजको  एक सफल दिन

    -  चिया सितै कथाको प्रसंग अनि सामुन्ने लेखको कदर गर्ने साथी।

    - हिजोको कुरा सुनिदिने र भोलिलाई प्रेरणा बनिदिने साथी ।।

बोलावट

 निशा यो अदभूत् आज; सामुन्ने आएर बस

थोपा थोपा खनाई पिलाउने छु, प्रीतिको रस ।

कोमल यी पाउ आज, माओरले छन् रंंगिएका

माओरका बुट्टा भित्र, एक रंगीन गाथा कुदिएका ।।


सुस्तरी  औंलाले यिनको  बुट्टा छोएर त हेर,

यिनका कलात्मक  संदेश बुझेर त हेर ।।


 निशा यो अदभूत् आज, मनको पर्दा उघार,

कण कणको भेटी चढाउने छु, केवल, तिमी स्वीकार

पाउमा   बाँधिएका लहरे पाउजुप, लयले छन् भरिएका

ह्रदयको स्पन्दनलाई व्यक्त गर्न, यिनलाई जुटाइएका ।


सुस्तरी कर्ण लेराई, यिनको गीत सुनेर त हेर

मधुर भावमा लोत पोत, यिनको भाकामा झुमेर त हेर ।।


 निशा यो अदभूत् आज,थोरै नजिक आऊ 

धैर्यको बत्ती बालेकी छु, चाहानाको दीप जलाऊ 

गुलाबको पंखडी सजित जलमा स्नान गरेका हर कोश

यिनको सुवासमा लुब्ध हुने भँवराको के दोष ?

 

लामो सासद्बारा  यो सुवास फोक्सो सम्म तानेर त हेर

यिनको वासनाको आकर्षणमा एकपटक बहेर त हेर।


 निशा यो अदभूत् आज,सब बन्धन फुकाइदेऊ 

शंकारुपी कारागारबाट आफूलाई छुटाइदेऊ ।

मोही छाडी नौनी निस्कन्छ आरीभित्र मदानीको घंश्रणमा

सम्पूर्ण रुपमा पग्लेको नौनी, आज यस चरणमा ।।


ह्रदय खोलेर यो नौनी, हत्केलामा राखेर त हेर

जिब्रोमा सहजै पग्लने, यो भेटलाई चाखेर त हेर ।।


सुन चाँदी  सब यहाँ आसनमुनि दबाई आएकी 

शक्ति संकल्प हत्केलामा राखि छु ल्याएकी

 हामी दुई बीचको दबाल ढाल्ने  औंजार छ हातमा

मिलनको विगुल बजाउने बादक पनि साथमा ।


एक पाइला तिमी पनि म सितै चालेर त हेर,

जुन आगोमा म दन्केकी छु, त्यही तापमा बलेर त हेर ।

निशा यो अदभूत् आज, यसभित्र पौडिएर त हेर

छोटो छ जीवन, अड्चन छन् धेरै, बन्धन तोडेर त हेर ।।


जन्मभूमि

जन्मभूमि र कर्मभूमि - मेरो एकै भएन,

वर्षौ  भयो छोडेको, माया मनको गएन ।

जन्मेको भूमि नेपाल नै हो, बोलेको भाषा नेपाली,

रगतमा मेरो नेपालीपन, आँखामा उकाली-ओराली ।


स्वादे छ जिब्रो- कल्पन्छ अझ गुन्द्रुक र भातलाई,

स्मृतिको आँगनमा, मन्दिरको घण्टाले बोलाउछ मलाई ।।

'गरि-खाने' नाममा हेर, लम्किएछु म धेरै अगाडि,

फर्केर हेर्दा विकासको लाममा, मातृभूमि अझैं पछाडि ।।


आजको  कालमा  फैलिएको छ प्रपञ्च विकराल,

जन्मभूमिबाट सन्तानलाई फुस्लाई लग्ने अदृश्य जाल ।

म एक हैन, मेरो जन्मभूमिबाट विदेशिए  सन्तान  लाखौं लाख,

कतै हामी सबको विछोडमा रुष्ट त भएन हाम्रो आमाको काख ?


आफूले बामे सरेको भूमि, जोत्न सकिनँ; छातीमा बोकेकी छु भार,

मनको एक कुनामा दायित्व, अर्को कुनामा  समयको मार ।

पक्की सडकमा बदलिन सकिनँ, आफू हिड्न सिकेको गोरेटोलाई,

रुप र पहिरन बदलिए पनि, भुलाउन सकिनँ सुरुवाल-भोटोलाई ।


अर्पण मैले  केही गर्न सकिनँ, मनमा साँचेकी छु ठूलो उधारी 

सिंचेर मलाई हुर्काएकी भूमि, बेला-बखत मनसपटलमा हेर्छु उघारी ।

विडम्बना ठूलो मेरो,   जन्मभूमि र कर्मभूमि  एकै भएन

समयको ओखती लाउँदा पनि,  यो  मनको घाऊ भरेन  ।।

Star in the making

 Far away- a bundled ball of light,

glowing powerfully, yet, unreached by sight.

With perfect  mixture of different emotions,

vigorously burning in divine furnace of caution.

For centuries, feelings were stuffed  inside memory.

Now each strand of memory, goes in the furnace,

one-by-one, slowly, revealing the shining brightness ,

as purified by the pressure and heat.

                Yes, this is the Star in the making!


Far away from the sky, uncaught by eyes,

non-existent for now.

In the beaker of creation,

awaiting the perfect chemical reaction;

to trigger one final nuclear chain process.

Shifting and pouring from one flask to another,

in a speed beyond the senses of any man or its devices;

               Yes, this is the Star in the making!


अजन्मा भावना

 खोलि राखेको कलम मसी सहित सुकेछ,

पल्टाई राखेको पाना कचक्कै खुम्चेछ ।

भावनाका वर्षा बारबार चुकेछन् ।

शब्दको पहिरन विना; भावना मनमै लुटिएछन् ।।


जन्म हुनु अघावै, शरीर चोरिएको अवस्था,

मेरा अजन्मा भावनाहरुको; तीतो व्यथा ।

निस्कन खोज्छन् एक रुपमा, 

पोखिन्छन्  बेसुरमा ।।

उमडिन्छन् , छटपटिन्छन् , घचेेटिन्छन्  ।

भित्र भित्र  व्यथामा लट्पटिन्छन् ।।


शरीर नभेटि, प्रेत बनेको;

विचारको वायुमण्डलमा चाहार्ने  भूत ।

मेरै पछाडी छाया बनी लागेको,

माग्छ बारबार ब्याज सहित सुद ।।











नयाँ पुस्ता

 साथी साथी मिली, खेल्ने र झगडा गर्ने उमेर मेरो

'निनटेण्डो' विना बाल्यकाल शुरु कहाँ हुन्छ र?

सबै मिली फुटबल खेल खेल्ने चाहना मेरो ।

भिडियो गेमको गोल विना फुटबलको मजा कहाँ आउँछ र?


खेल्ने कुद्ने उमेर मेरो,  आजकल कम्प्यूटर मै खेल्छु।

कहिले जाँच, कहिले पढाई, सब कम्प्यूटर द्वारै चल्छु ।।

उकाली, ओराली, दाँया, बाँया आजकल सबलाई म; 

 आफ्नो  किबोर्डको 'तीर' हरुले  नै ताक्छु ।।

 

नाच्ने गाउने उमेर मेरो,  मोबाइलले आजकल सबलाई नचाउँछ ।

कहिले युट्युब, कहिले गेम, दिन त्यसै त्यसै ढलाउँछ ।।

नाच्न मन छ, गाउन मन छ, सब फेसबुकको निम्ती गरिन्छ ।

'लाइक्स' र 'कमेन्ट' बाट आजकल सफलता-असफलता जोखिन्छ 

शरीरको सुख जस्तै मनको सुख सबलाई छ प्यारो,

इन्स्टाग्राम र टिकटकको ख्याति विना तर सबै छ अधुरो।



 

सबैकुरा ‘टेक्नोलोजी’ले नै चल्छ आजभोलि ए साथी ।

भन्छन् ‘टेक्नोलोजी’ले नै पुर्याउँछ हामीलाई माथि ।।

स्मार्ट फोन, स्मार्ट टिभि, धेरै छन् आजकाल यस्ता ।

नयाँ युग, नयाँ जमाना, यसैले त म - एक नयाँ पुस्ता ।।

 

क्षमा शास्त्र

 क्षमा- अर्थात् क्षयबाट बच्ने द्वार ।

स्वयंको क्षय! शान्तिको क्षय।


क्षमा वस्तु हैन,  क्षमा वाणी हैन।

 क्षमा द्रव्य हैन,  क्षमा अणु हैन ।

 क्षमा एक भावरुपी प्रकाश,

ह्रदयबाट निकाली शक्ति संचय गर्ने प्रयास ।।


 क्षमा संसारबाट मुक्ति पाउने पथ हो,

 क्षमा घाऊ लागेको बेला धन्वन्तरीसम्म पुग्ने रथ हो ।

 क्षमा रित्तिएको बेला आश्रय लिने धन हो  ।

 क्षमा‍- अलौकिक  दिव्य गुरुहरुको मन हो ।।


 क्षमा नै भवसागरबाट उम्कने मलम,

 क्षमा नै नयाँ शुरुवात कोर्ने कापी र कलम ।

 क्षमा नै हर खाडल पुर्ने गुणकारी मिश्रण।

 क्षमा नै परम् आत्माको निश्चल अन्तस्करण ।।


 क्षमा पनि टुसा सरि बिस्तारै उम्रन्छ,

 क्षमा पनि विरुवा सरि बिस्तारै फस्टन्छ ।

धेरै प्रयास पश्च्यात्,  क्षमा पनि एकदिन-

वृक्ष सरि छायावान् बनि फैलिन्छ ।।


 क्षमा व्यक्तिलाई मात्र हैन,

परिस्थिती र समयलाई पनि देऊ ।

हर कठोर विवशताको माझ,

 क्षमा शास्त्र मनमा लेऊ।।




'जंक'

मासु-भात भन्दा मीठो; बाहिरको 'चिकेन -नगेट्' ।

बट्टाको जुस सजिलो, फलफूल चपाउन मरिमेट् ।

घरका केटाकेटी मीठो मान्छन् केवल 'ससेज' अनि 'बर्गर' ।

दाल भात प्रेमीले बुझ्न सकिएन यो 'जंक' रहर ।।


कालो दाल-भात, रायोको साग। छेऊमा धनियाँ पिनेको अचार ।

मुखै रसाउँछ आफ्नो, जब यो पकाउने मात्र आउँछ विचार ।

आजकालका केटाकेटी नाक खुम्चाउँछन् ; 'खै त हाम्रो खाना भनी?'

'जंक-फुड'  बाहेक अरु  खानै हैन। लौन !  कस्तो यो दुश्मनी ?


 दिनभरिको थकावट पछि कामबाट घर छिरेको,

काँधमा 'स्ट्रेस' र महत्वकांक्षाको  भार बोकेको ।

भात-दाल पस्की दिंदा छोराछोरी हर रात बिगार्छन् 'मुड'

कत्ति मै मात्र पीर बोक्नू ? लौ खाओ  'जंक-फुड' !

लडाईंको रणभूमि

कसको भयो हार यहाँ? कसको  भयो जीत?

दुवै आखिरमा पुगिहाले  मृत्यु समीप ।।

मरेर जाँदा हार्नेले  केही लगेन, जित्ने पनि रित्तै,

जित्ने हार्ने दुवैले, अन्त्यमा, मृत्यु पाए सित्तै  ।।


शुरु शुरुको सानो मनमुटाव, तेरो-मेरोको शुरुवात

हातमा  सानो जीवन अनि छातीभरि लिई द्वेष ,

रागजति सबै रगत बनि पोखिए, जीवन पनि  भयो रित्तै,

जित्ने हार्ने दुवैले, अन्त्यमा, मृत्यु पाए सित्तै  ।।


जीवन न त  केवल सुख हो, न त केवल दुःखै मात्र ,

तर सुख समात्न दुःख छल्लाउने सबको भरपूर प्रयास ।।

यो दुःख र सुखको होडबाजीमा सबको हात सधैं रित्तै ।

जित्ने हार्ने दुवैले, अन्त्यमा, मृत्यु पाए सित्तै  ।।


लडाईं सधैं गलत नहोला, तर कुन कुरा प्राण आहुति योग्य छ त? 

कुन त्यस्तो स्वार्थ छ जुन जीवन भन्दा पनि भोग्य छ  त?

सायद, जीवन आहुति योग्य कारण विना - लडाईं सब रित्तै,

जित्ने हार्ने दुवैले, आखिरमा, मृत्यु पाउँछन्  सित्तै ।।


नयाँ पुस्ताको जीवन सिंगारिन्छ, यदि मेरो जीवनको आहुतिले 

यदि कहिको अन्धकार नासिन्छ, सधैंलाई, मेरो चिताको ज्योतिले ।।

तब  सायद त्यो लडाईको अर्थ होला  केही हदसम्म  पुष्टि ,

धेरै जटिल  छ स्वीकार्न, लडाईं, जसले विनास्छ सृष्टि  ।।















चक्र

 खोला नालालाई पहिले दुषित गराई,

फेरि प्रशोधनको नाममा;

तिनमा  रसायन डुबाई ।

'सोडा' ले भरिएको पेय पदार्थ बनाई,

खिल्ली उडायौ मान्छे, तिमीले प्यासको;

      हर घुट्कोमा अवधि घटाई आफ्नो सासको ।।


बिगार्छौ तिमी, अनि बनाउने प्रयासमा गर्छौ व्यापार।

रोग दिन्छौ, औषधी निकाल्न ।

औषधी दिन्छौ, नसोचेको प्रभाव निकाल्न ।

जीवन-चक्र भित्र तिम्रा यस्ता अनगिन्ति चक्र ।

    यी  चक्रले नै, मानिस सब एक अर्कासित वक्र ।।



म को हॅु ?

 म विश्व हॅु, म व्यक्ति हैन,

 म मुहान हॅु; कुनै अभिव्यक्ति हैन ।

स्वतन्त्र छु म; शरीर मैले धरेको,

छाडी पनि दिन्छु; हाललाई, कर्म गरेको ।


म पूर्ण हरदम ; मेरो अंग हो ऊ,

मेरो रूप छैन, मेरो प्रतिरूप ऊ।

मनको म सिमा हैन; मेरो सिमा  छैन,

ज्ञान मबाट बग्छ, मलाई व्यक्त गर्ने ज्ञान छैन  ।


वायु हॅु म, बतास हॅु म,

कीरण हॅु म, सुवास हॅु म ।

कुनै प्रश्न छैनन् मसित अनुत्तरित,

न  भविष्य छ न मेरो कुनै  अतीत ।


प्रतेक पल म पूर्ण, प्रतेक क्षण पूरा,

शरीर मेरो हैन यो; मनको के कुरा ।

अन्नत छु; अन्नत हॅु, पानीको रूप,

जेमा हाल्छौं, जेमा हेर्छौ उसैको प्रतिरुप ।।



तिम्रो रिस !

 तिम्रो रिस साथी, भनूँ कस्तो ?

स्वच्छ हिमालको हिउँ जस्तो ।

तर सूर्यको कीरण चाहिंदैन तिमीलाई

पग्लन्छ एक मधुर मुस्कानको स्पर्सले,

रिस तिम्रो यस्तो छ साथी,

मेटाइदिन्छ त्यसलाई सानो हर्षले ।।


करकलोको पातमा जमेको शीतको थोपा,

अडिदैंन कदापि त्यो पातको अंगमा ।

तिम्रो रिस पनि त्यहीं शीतको थोपा,

गुलाबी सिन्दुर छर्छ तिम्रो मखमली रंगमा ।।


कसरी  बयान गरूँ त्यो रिस अभिव्यक्तिलाई,

कदा कदा झुल्कने त्यो अनौठो शक्तिलाई,

जे छ, अवर्णननीय छ, तिम्रो रिसै पनि,

शब्दै थोरै छन् , वर्णन गर्न भनि ।।


पुसको घाम जस्तो लाग्छ तिम्रो रिस ,

उदाउनै गार्हो, उदाए झन् प्यारो,

मरुभूमिको पानी हो तिम्रो रिस,

पाउनै गार्हो, पाए बाच्ने सहारो ।।


(25 December , 2003)


मन

मन मलासिन, मन विलासिन

मन त्यागूँ कसोरी ?

 मन मलासिन, मन विलासिन

मन अपनाऊ कसोरी ?


मन चञ्चल, मन उडिन्जेल

मन सम्हालू कसोरी ?

मन चञ्चल, मन उडिन्जेल 

मन बँचाऊ कसोरी ?


मनले बितायो, मनले सतायो,

मनको साथ पाऊँ कसोरी ?

मनले दिलायो, मनले  मिलायो,

मनलाई छाँडू कसोरी ?


न त सारथी  साथ, न छ तिम्रो हात,

मन चलाऊँ कसोरी ?

मन  भित्र मेरो, तिमी रहन्छौ,

 मन जलाऊँ कसोरी ?

परदेशि नेपालीहरु

 कोही परदेशिन्छन् चाहानाले, कोही वाध्यताले ।

यी दुईको बीचमा एक हुल छ यस्ताको

जसको विदेशिनू पछाडि समाजको हात छ,

व्यर्थमा कुरा काट्नेहरुको एक जमात छ ।।


फलानोको छोरो अमेरिका गयो,

ढिस्कानोको छोरी अर्ष्टेलिया,

आजकल त पूरै गाऊँ नै,

सरेको छ बसाईँ - कुवेत र मलेसिया ।।


यस्तो नेपाल देशमा के बस्नू ?

क्यानाडाको त बरू हिउँ पनि भुवा ।

नेपालमा सानो काम गर्नु भन्दा 

बरु दुवई मै खनौंला वालुवा ।।


यी सब अर्थहीन कुरा गर्नेहरुको

अर्थहीन कुरा बारबार सुन्दै ।

विदेशिनु पर्छ भन्ने ,

मन्त्रको जप बारम्बर गर्दै ।


आजकल मानव सोत्रको निर्यात

गर्दै गरेको नेपाल समाजको अवस्था,

त्यसमाथि घरबार बेच्नलाई 

प्रोत्साहन गर्ने व्यापारिक व्यवस्था ।।


सरकार पैसा वटुल्दै व्यस्त,

व्यापारिहरु व्यापार बढाउँदै मस्त

देशका स-साना टुक्रा यताउता छरिदै,

घाऊ लाग्नेहरुको गह झन् झन् छ भरिदै ।।



मुसा

 सानो म मुसा, सानै छ शरीर,

छुनु र मुनु, हात र खुट्टा, उर्जाले भरपुर ।

उॅधोमा मेरो सन्तुलनको अनमोल औजार,

मै  जत्रो लामो, प्यारो छ यो मेरो पुछ्छर ।।

 नाकले सुंघ्दछ अन्न र बदाम

प्यारो छ घर , यो आफ्नो गोदाम

तीखा यी मेरा दॅातका जमात

आफूलाई दिन्छु म खानाको सौगात ।।


घुलु र मुलु हुलमा मेरो साथीको बथान

कोही पक्का, कोही कच्चा, कोही मै जस्ता जवान

सुस्तरी आइ, लुकेर हेरी, खुरुरु दौडिइन्छ 

काटेर बोरा, खाएर अन्न, विष्टा सौगातमा  छोडिन्छ ।।

जीवन मेरो, सुन्दर अति, भोजन मिलुन्जेल

मुसा हॅु म, चन्चल रहन्छु, सास यो चलुन्जेल।।



भावनाको बाँध

आजकल हलचल छाएको  छ अस्तित्वको धरातलमा,
उठेको छ आँधी विचारको यो दलदलमा।
'मेरो  निर्णयका उपज हुन् मेरा परिस्थिति' ,
यो सत्यको अनुभवले थामिएको छ अहंको  गति ॥

विचारको उपज हुन् व्यक्तिबाट निस्कने व्यवहार,
तर धेरै कठिन छ लगाउन यी विचारमा लगाम  ।
जब भावनाको वेगले बुद्धि  ढाकिने गरि बाढी आउँछ,
तब उपाय रहन्छ केवल दोहोर्याउनू 'राम- राम' ।।

समस्याको हल त रहेछ केवल भावनाको 'बाँध '।
बाँध यस्तो जुन होस् भावनाको वेग भन्दा  अग्लो र बलियो।।
जसको कण कणमा होस् जीवनको तोड खप्ने क्षमता ।
जसको  धरातलमा होस् एक अलौकिक बुद्धिमता ।।

यस्तो बाँध, जसले मन प्रतिकुलका सब वचन थाम्न सकोस्,
जो चाहाना प्रतिकुलका सब  कार्य बहन गरोस् ।
सांसरिक उथल पुथलमा पनि स्थिर रहोस् ,
हरेक  शारिरीक प्रतिकुलतामा  पनि अडिग होस् ।।

जीवनको मुसलधारे बहावमा मनलाई सुरक्षाको खोल दिने,
समयको  यो बदलिंदो काँचुली बीच, पत्यारिलो बोल दिने ।
कल्पनाको आँखाले देखेको छ अजंग भावनाको त्यस्तो बाँध,
वास्तविकतामा त्यसलाई उतार्ने दायित्व, स्वेच्छाले धरेको  मेरो काँध …..
                                                          

  ऋमशः

कोभिड लठ्ठी

 वर्ष दुई हजार बीस (२०२०)को घातक हतियार,

कोभिड नामक लठ्ठीले अचानक गर्यो  पृथ्वीमा प्रहार ।।

पूर्वमा केन्द्रविन्दु तर धक्काको अनुभव  उत्तर, दक्षीण, पश्चिम  सबैतिर ।

झिना मसिनाको के कुरा ! मै हूँ भनाउँदाको पनि निहुर्यार्यो यसले शिर ।।


कोभिड लठ्ठी जसको पर्यो छातीमा, त्यो त त्यहीं भुतुक्क 

जसको वरिपरि यसको पिटाई बर्जियो, त्यो डरले सुक्क-सुक्क ।

मास्टरको लठ्ठी देखि विद्धार्थी तर्सिए सरि, कत्तिको उड्यो सातो,

परिवार भित्रै एक अर्कासित डराउनू पर्ने, यो लठ्ठीले बदलियो सामाजिक नातो ।।


राजनीतिक गद्दीको अग्रमा बस्ने पनि सबै,

कोभिड लठ्ठी सामु परे  पूर्ण रुपले  नीतिहीन ।

जुन द्रुत गतिमा कोभिड लठ्ठीको पिटाई ब्रजियो,

त्यसको सामु त सामाजिक सन्जालको 'ह्यास-ट्याग' पनि गतिहीन ।।


कोभिड लठ्ठी बर्जिएला भन्ने भयंकर त्रास,

त्रास मात्रले पनि उराठिएको जीवनमा मर्दो छ आश ।

त्यसमाथि फोक्सोमा असर गरि निमोठिन्छ रे सास,

कसैलाई महिनौ तड्पाउन्छ रे अनि कसैलाई दिनमै नास ।।


के ले पो बनेछ अनि कसले पो चलाएछ यो  कोभिड लठ्ठी?

सामाधान अझैं उर्लेको छैन; खर्च भइसकें अनगिन्ति पैसाका गठ्ठी ।

प्राकृतिक प्रकोप हो की यो या त कुनै विचारको विसंगति ?

लाखौं मर्दा पनि; यो लठ्ठीको बदलिएको देखिन्न मति ।।


मच्चिरहेको छ यो लठ्ठीको गति 'स्वाय-स्वाय' कराउँदै ,

कमजोर जो छ, त्यसको धर्ती बेस्सरी हल्लाउँदैं ।

बलवान ठान्नेलाई पनि कमजोर बनाउँदै,

कोभिड लठ्ठी लौन मच्चियो, विज्ञानलाई जिस्काउँदै ।।


यो लठ्ठीले मानिसको बथान जब थाल्यो चराउन,

बिचरि प्रकृति, बल्ल यिनले पाइन् सुस्ताउन ।

जीव- जन्तु अनि वृक्ष सब, प्रदुषणबाट थोरै पाए बिदा,

वायुमण्डल शुध्द हुने मौका आयो, कोभिडले फन्को लिंदा ।।


विवशतामा उर्लेर निस्कने; मानिसको अनौठो छ मति,

बुद्धिको प्रयोग गरि वंश बचाएको इतिहास छन् कति ।

रोग-महामारी बीच पनि नयाँ जीवनको ढोका खट्खटाउने,

केहीं छैन त्यस्तो ; मानवको अस्तित्व सजिलै मेटाउने ।।


'बचौं र बचाऔं ' आप्नो नाक र मुख थुनामा राखी,

ज्यान रहें फेरि नाचौंला, यसपालिलाई इच्छा कुनामा राखी ।

सास फेर्न जति जरुरी छ, हात धुनु आजकाल तेस्तै ।

छिःछि, दुर् दुर् हैन;  सद् भाव र करुणा फैलाउन रहौ व्यस्तै ।


मानसिक बल, शारिरीक बलको हो अनन्त स्रोत,

शरिरमा रोग लागे पनि, मनको बल सामु कसैको छैन जोड ।।

विश्वयुद्ध सहियो, उथल-पुथल बेहोरियो,यो पनि अवश्य बित्छ ।

फेरि एकपटक, मृत्युलाई जीवनको चाहानाल‍े जित्छ।।

        यो कोभिड लठ्ठी , अवश्य  भाँचिन्छ ।।

 





 




Choice

The mundane world drags us down so often. 
But trust me, we don't always sink. 
Even though, problem bangs us right on our face, 
we can master our reflex and not even wink. 
We are meant to survive. 
We are meant to fight, 
for those beliefs and thoughts we vow for. 
We are carved perfectly to be who we are,
 its just up to us to first accept and then strive for. 
 We all have witnessed dark days, 
some we recall others forget. 
The time will goad us forward anyways,
 some lead others not. 
 Choice is still ours, 
no matter what the condition is. 
A longing to survive and grow, 
comes with a very mundane task of 'reap and sow'.

Lying on pyre

Every night I put myself in burning pyre.

I look at my entire self and slowly watch the fire engulfing it.
Fire burns off my outer clothes. 
Then my skin, slowly moving into muscles and blood.
Fire burns off  all my bodily fluids, my organs, hands, legs, chest and belly.
Slowly I sense  my eyes on fire then my ears,  mouth,  tongue- whole face, hair and finally head.

When there is nothing to burn the fire goes off on its own.
I gather all the remains and place that on hands of my ego and then remind it that it is what my ego is based on. 
Nothing. 
There is no basis for it.
 All it existed was just an illusion.
Ego succumbs itself and then vanishes.

Finally, when I open my eyes, there is a new birth within myself. 
New flow of energy kicks off a new chapter.