Khalti Ko Prasanga

कल्पना ।।।।।।।।।।।।।।

जहाँ जहाँ बह्यो बतास, हावाको छाप त्यतै तिर,
घाऊ जता जता लाग्यो, पीडा त्यही अंग निर ।
लागेको न चोट हो, न त कुनै बिझेको छ तीर,
तब पनि मृगतृष्णामा डुबे झैं, क को हो मनमा पीर?

नयाँ मोडसित डर लाग्छ,नौलो बाटोबाट नयाँ भय,
कमजोर म हो की मेरो मन, कसले गर्ने यो तय।
अस्तित्वमा बदलाव हुने हल्का भूकम्प जब चल्छ;
मनमा उभिएका सब कल्पना,अनायासै एकसाथ ढल्छ।।

रगत त्यही छ शरीरमा, सोचमा पनि त्यति छैन अन्तर,
नयाँ परिस्थिति जब जोडिन आउँछन्, भत्कन्छन् सपनाका घर ।
म बादलपरि उड्न चाहन्छु,लाग्छ गुरुत्वार्कषणले मलाई रोक्छ,
आकाशमा बहन नदिई, बरु मेरो बोझ धर्तीले नै बोक्छ ।।

जान देऊ मलाई ए धर्ती, बिन्ती गर्दैछु म आज यहाँ,
आज मर्यादाले रोकेको छ,जिद्दीपन सार्है कठोर पुगाउँछ कहाँ ।
म जन्मेको छु उद्देश्यले; उद्देश्य कहाँ छ मैले नि छैन बुझेको,
मेरो अन्त्य शरीर हैन; अनन्तसित अन्त्य छ मेरो जुधेको ।।

म यस्तो वृक्ष हुँ,जरा धर्तीमा फैलन्छ तर फल जसको आकाश पुग्छ,
म यस्तो समुद हुँ, छाल जसको धर्तीमा उठ्छ,गहिराइले जमिन चिर्छ ।
मलाई पुग्नु छ त्यो अनन्तमा,जहाँ एक नै हो सबको अन्त्य ।
जहाँ कविता भाषा होस्,खुशी आहार अनि जीवन एक सन्त ।।