Khalti Ko Prasanga

माया त छँदै छ ...............

छातीमा टपक्क टाँसिएर भन्थें,
बिहे म कहिल्यै गर्दिन आमा ..
सधैं तिमीसितै बस्छु, तिमीसितै बाँच्छु,
बुबा-आमा र म, सँगै काटौंला  जीवन लामा लामा ..

  उमेर बढ्यो, समय बह्यो, पढाई तर्फको भार पनि,
 आमा-बुबा लाई छोडी पढ्न उडें, कर्मको मार भनि ।
ह्रदयमा घाऊ त लागेकै थियो, तर समय हामीभन्दा बलियो
..........माया  त छँदै छ आमा, खालि प्राथमिकता बदलियो ।।

हातमा हात राखी, जग्गेमा अग्नि साक्षी राखियो,
जीवन भरि साथ दिने मन्त्र पनि पढेकै हो ।
मुटु भरि माया, ह्रदयमा अथाह प्रेम,
अनि एक अर्का विना बाँच्नै नसक्ने अनुभव पनि भएकै हो ।।

   वर्ष बित्यो, ऋतुहरु आए गए। काम, कर्तव्य पट्टीको लचकता बढ्यो ।
   व्यवसायको माग टार्दा टार्दा, जीवनको हर आवश्यकता चढ्यो ।।
बदलावमा बदलिंदा जीवन, सोच, स्वभाव, शक्ति सबै घुलियो
..........माया त छँदै छ जीवन-साथी, खालि प्राथमिकता बदलियो ।।


नौं महिना गर्भमा राखी तिमीलाई जन्माउँदा, म पनि नँया रुपमा जन्मिए,
सन्तानको रुपमा तिमीलाई धरे पछी, तिमी सितै म मख्खिए ।
तिमी भन्दा ठुलो अरु केही भएन, तिमी भन्दा माथि अरु कोही रहेन,
तिमीलाई छातिमा च्यापी माया गर्नु बाहेक मनले अरु केही सहेन ।

    समय बितें, दिन र रात सितै, तिम्रो भविष्यतिरको तयारी बढ्दो,
  पढाई, काम, कर्तव्य, जीवन यी सबको खुड्किलामा तिमी चढ्दो ।।
बिछोडमा ह्रदय त रोएकै थियो, तर आशीशै आशीशले बिदा गरियो,
..........माया त छँदै छ सन्तान, खालि प्राथमिकता बदलियो ।।

जन्मे देखि साथ दियो शरीरले, अनगिन्ति राम्रा नराम्रा पलहरुमा
बाल्यकाल, जवानी, वयस्क त अन्य साना मसिना समयका छलहरुमा ।।
मैले पनि कति पल्ट सिंगारे तिमीलाई, कयौं पल्ट दिएँ चोट,
तिमीमा कति पल्ट सौन्दर्य देखें त कति पल्ट औंल्याए खोट् ।।

आज बुढौंलीको पुलमा तिमी अड्किरहेका छौ, जीवनको अन्तिम सास गन्दै
शक्ति र सबलता दुबैलाई पुराना कहिल्यै नभेटिने साथी भन्दै ।।
सास त्याग्ने पींडा, यति कडा हुँदा हुँदै पनि, तिमीसितको साथ यहीं सकियो,
..........माया त छँदै छ 'जीवन', खालि प्राथमिकता बदलियो ।।



No comments: