Khalti Ko Prasanga

योग निद्रा

जागेको बेला शरीर हुँ म,
सपनीमा हरपलै बदलिन्छु म ।
मस्त निद्रामा केही छैन ज्ञान,
योग निद्रामा सब हुन्छ भान ।।

जागेको बेला ऋचाको संसार
सपनीमा बदलिंदो रुप र परिवेशको बिहार ।
मस्त निद्रामा यी सबको नाश,
योग निद्रामा, आफू मस्त तर संसारको आभाष ।।

जागेको बेला कर्म र कर्तव्यको ताँती,
सपनीमा कहिल्यै दिन त कहिल्यै रात्री ।
मस्त निद्रामा समयको छैन जोखना,
योग निद्रामा समय र दुरीको छैन व्याखना।।

जागेको बेला 'म,मेरो,मलाई,मैले अनि मसित',
सपनीमा अनुहार विनाको 'म' कै जीत् ।
मस्त निद्रामा छैन म,छैनौ तिमी, न कुनै मीत,
योग निद्रामा तिमी-म सब एक,न हार,न जीत् ।।

जागेको बेला सधैं भविष्यको चिन्ता,
सपनीमा मनको उत्खननबाट चित्रको निम्ता।
मस्त निद्रामा मन, दिमाग र शरीरलाई विश्राम,
योग निद्रामा आत्मालाई मीठो प्रणाम ।।

जागेको बेलामा बदलिंदो प्रकृतिको प्रभाव,
सपनीमा प्रकृतिलाई बदल्ने चाहानाको बहाव ।
मस्त निद्रामा यो प्रकृतिबाट क्षणभरलाई अलग्गिने प्रयास,
योग निद्रामा यही प्रकृतिसित मिली खेल रचेको आभाष।।

जागेको बेलामा सासको कटपुतली भएको सोच ,
सपनीमा यही कथा माथि मनले गरेको खोज ।
मस्त निद्रामा यी सब कोशीशहरु माथि विराम्,
योग निद्रा,एक यात्रा; यी गर्ने गराउनेको धाम् ।।

अनिश्चित्ताको घडा

यति धेरै अनिश्चित्ताका घडा छन् वरपर छरिएका,
हर घडा फेरि मानिसका व्यक्तिगत सोचले भरिएका ।
जीवनको घडा,मरणको घडा,कर्मको घडा,कर्तव्यको घडा,
हर एक घडा बीच यहाँ,घमण्ड र अज्ञान बडा बडा ।।

दु:ख उसको, मसम्म कहिल्यै आइपुग्दैन भन्ने सोच,
उसले पायो, मैले पाइँन, भन्ने मनको भारी बोझ् ।।
यी सब बीचपनि आफूलाई थामी राख्नु पर्ने बाध्यता,
अनि भाग्य र समय बीच निभाउनु पर्ने मध्यस्तता ।।

अन्तरिक्षमा खुल्ला उभिंदा पनि,
शीर माथि आकाश छ भन्ने प्रकृतिको छल।।
हरपलै धर्ती तर्फ सबलाई तानिरहने,
गुरुत्वार्कषण प्रतिको निस्कर्ष रहित हल ।।

मानिस तैपनि भाग्यको पिध रहित घडालाई ,
दुई अन्जुलीले हर क्षण खोज्छ भर्न ।
यहीं घडालाई एकदिन डुङ्गा बनाई,
प्रयास गर्छ मान्छे फेरि भवसागर तर्न ।।

जीवनको घडा,मरणको घडा,कर्मको घडा,कर्तव्यको घडा,
हर एक घडा बीच यहाँ,घमण्ड र अज्ञान बडा बडा ।।

विचार सिन्चन

मनको बगैंचामा आज अनायास,
एक तरंगसित घुम्दै गरेको भावना देखें ।
सौंन्दर्य उसको यस्तो खास,
पलमै नसोची आफ्नो ऊ प्रतिको भाव पोखें ।।

टपक्क टिपी उसलाई लगें सयन कक्षमा
मायाको ओढ्ने भित्र राखी लुकाए वक्षमा ।
मनको रसमा डुबाई आफ्नो विचारले सिचें
आफ्नो ज्ञानले भ्याएसम्म विचारले थिचें ।।

कयौं रात बिते, हेरचाहमा, निद्रा विहीन ,
कयौं दिन बिते, भई मायामोहमा लीन ।
सुक्ष्म सुक्ष्म मेरो विचारको जोरन हाली,
उसमा उगाए विचारको अदभूत् बाली ।।

बढ्दो विचारको हुर्कदो शक्ति एकातिर,
ऊ प्रतिको मेरो अभिलाषा अर्कोतिर ।
उसको बाल्यकाल मेरो इच्छाको संगतमा,
मेरो इच्छाको कम्पन उसको रगतमा ।।

ऊ मेरो आत्माभित्रै अब हर तवरले मिसिएको
इच्छामा परिवर्तित ऊ, इच्छाशक्तिकै मेलमा ।।
मेरा हर परिवर्तन छन् यहाँ चलिरहेको,
यही आत्मा-शक्तिको अदभूत तेलमा ।।

यसरी नै सिन्चन गर्छु,बगैंचामा भेटिएका भावनालाई,
हुर्काई बढाई,विचारमा मिलाई,आफूमा परिवर्तनको आगो जलाई ।।
फेरि आज बगैंचामा भावना छु रोज्दै,
कतै भेटिहाल्छु की भनी परम्-धाम पुग्ने बीज खोज्दै् ।।

आमा मेरी

आमा मेरी, 
मनैमा छौ सधैं मेरो तिमी 
कहिले प्रार्थना बनी, 
त कहिले आरध्य बनी, 

तिम्रो कोखमा बसेको दिन 
अझ सुनौलो लाग्छ,
 तिम्रो काखमा सुतेको
 सम्झनाले अझैं पींडा भाग्छ ।। 

 आमा मेरी, 
आँखैमा छौ सधैं मेरो तिमी
कहिले साहारा बनी, 
त कहिले संगी बनी ।

तिम्रो हात थामेको बाटो 
अझ गन्तव्य झैं लाग्छ, 
तिम्रो अंगालोको स्मरणले, 
हर मोड छहारी झैं लाग्छ ।। 

आमा मेरी, 
तिमी मेरो अर्थ  हौं जस्तो लाग्छ,
 तिमी नहुँदा, उपलब्धी मेरा,
 सब व्यर्थ झैं लाग्छ ।

 जति टाढा भए पनि, 
मेरो हर खोजमा तिमी, 
मलाई मायाको परिभाषा सिकाउने; 
मेरो सोचमा तिमी ।

तिम्रो सु:स्वास्थको कामना;
मेरो हर प्रार्थनाको उद्देश्य ,
टाढा छु तिमीबाट, 
तर तिम्रो छेऊ हुने छु अवश्य ।। 

सब बन्धन तोडी आउनेछु; 
अहिले त्यही शक्ति छु बटुल्दै । 
तिम्रो माया आँखाबाट बग्ला भनि;
 भावना मनमै छु संगाल्दै ।।

आमा मेरी, 
म तिमीसितै छु, 
तिमी मसितै भए जस्तै गरि।।

म जहाँ छु, 
मलाई सधैं डोर्याउछन्,
तिम्रो सिख छन् जुन वरिपरि ।

आमा मेरी, 
मेरो आरधना तिमी, 
मेरो आरध्य पनि । 

मेरो जीवनको शुरुवात तिमी,
अन्त्य तिमी,
तिमी नै मध्य पनि ।।

मेरा सकारत्मक तरंग

अलिकति मनमा छ चोट,
अलिकति जीवनमा खोट,
तैपनि भवसागरमा जित्छु नै भन्ने,
मेरो यो मनको अठोट ।।

ग्रहण गर्न बाँकी छ थाँती,
छोटो दिन अन्धकारमय राति,
तैपनि कर्तव्यमा सफल हुने विश्वाश,
मेरो शिर भन्दा पनि माथि ।।

पाइला पिच्छे जमिनमा छन् चिरा,
भावना कति मीठा त कति अमिला पीरा,
तै पनि यो अन्धकारमय खानीमा,
मेरो हात पर्ने छ एकदिन हीरा ।।

वरिपरि छरिएका सयौं आकार,
कति कलात्मक त कति विकार,
तै पनि यो निराकार चित्र पेटिमा
मैले कोरेको सपना हुने छ साकार ।।

माया-मोह

मनले छोयो जे, मनकै त्यो भयो,
नपाउन्जेन हरपलै यो मन रोयो ।।
सबमा छ मोह, सबमा छ माया,
मनमै छ मोह, मनमै छ माया ।।

वस्तुमा माया, व्यक्तिमा माया,
शरीरमा माया,धनमा माया ।
हरेक चाहमा, हरपलै यहाँ,
मोहको नव रुप मात्रै पायाँ ।।

मोहले बाँध्यो यति जोडसित,
शरीर अति प्रिय बन्यो मोह-मित,
मायाको अनन्त सागरमा मोहको अन्धोपन,
यो अन्धकारमा, देखिदैंन कतै समापन ।

रुप देख्यो, रुपै माग्छ मन,
धन देख्यो, धनै माग्छ मन ।
आराम हर वस्तुमा खोज्छ मन,
मनै मनबाट चलाउँ जीवन, भन्छ यो मन ।।

काम गर्न नपरोस्,तर मुखमै परोस् माम ,
भक्ति धर्न नपरोस्, तर जीवन बनोस् धाम ,
मनको माग यस्तो, सिधैं प्रकृतिको विपरित्
अब त परमात्माले नै गरुन् यसको हित् ।।



कृतज्ञता

कहीं, कतै, कसैको दृष्टि छ म माथि,
नदेखे पनि, आभास मनमा पक्कै छ साथि।
कहिले प्रोत्साहन बनी,त थाकेको बेला वाहन बनी,
अनुभव मलाई छ, तिम्रो कामना सँगै छ भनी ।।

यो पलको खुशी जसले दियो;यो भाव आज,त्यो साथीको नाम
मेरो सम्झनामा छैन ऊ,तर मनमा अझैं छाएको छ पारिलो घाम ।।
विश्वको जुन कुनामा भए पनि,संदेश भने मैले अवश्यै पाएँ
त्यसैले झुकेको यो मन, शब्द मार्फतै आज यँहा चढाएँ ।।

इन्द्रिय - मेरै हुन् त ?

कसले सुन्छ कानबाट मेरो, कसले हेर्छ आँखाको नानी भित्र-देखि ?
केले पो हो बुझ्ने मन छानी,अनि कसले चलाउँछ दिमागको रेखि ?
मैले गरे जस्तो देखिन्छ संधै, तर विश्वास मेरो गर ,ए साथी!
आँखाले कसरी हेर्ने मलाई आए;निर्भर हुने म थिइन आज चस्मा माथि ।।

दुई कान शरीरमै त छन्,तर ऐना विना यिनलाई चक्षुले कहिल्यै देखिन
कानले वास्तवमा कसरी सुन्ने; त्यो पनि आजसम्म सिक्न सकिन ।
श्रवण शक्तिको शुत्र मात्र आए,आफ्नै मनको वाणी म सुन्थे होला,
तिखो कान बनाई, कयौं समस्यासित सरलै म जुद्धे होला ।।

मनको शुत्र त टाढै मित्र; यसमा त वस मात्र पनि पाए,
आँसु जीवनका सब सुक्थे होलान्, जतिसुकै दु:ख सामु आए ।।
मेरो कसरी भनु म यिनलाई, जब मलाई यिनको सच्चा ज्ञान नै छैन ।
बुझ्ने चाहना धेरै छ, तर कसरी अघि बढ्ने केहीं अनुमान नै छैन ।।

शरीर-आत्मा

शरीरको बाटो अलग, आत्माको बाटो अलग्
दुई मिले पछि मात्रै फेरि उज्यालोको झलक् ।
आत्माले शरीर धर्छ आफूलाई चिन्न भनि,
तर शरीरको चमकमा बिर्सन्छ आफू भिन्न भनी ।।

नाक,मुख,आँखा,कान,दिमाग अनि मन
यिनैलाई मानी उसले सुन,चाँदी धन् ।
अलमलिन्छ ऊ वर्षौ; चडक भडकको संसारिक लोकमा,
शरीर छुट्दै जादाँ,छटपटाउँछ अविरल प्यास र भोकमा।।

ए मानिस सुन ! तिमीले शरीर धर्ने हो,
शरीरले तिमीलाई कदापि हैन।
शरीर आत्माको मार्ग अवश्य हो,
यो मार्ग बाहेक, उद्दार गर्ने अर्को साथी छैन।

साथी हो शरीर तिम्रो,तर सत्य बोधविना ऊ पनि खोटो ,
उसैमा नभूल तिमी,उसको साथ पनि छ छोटो ।
उसको राम्रो साथी बन,तर फेरि दास हैन।
ऊ केवल मार्ग हो, तर उसमा गन्तव्य छैन ।।

जीवन कथा

बादलु यो आकाशको मुनि, कथा अनगिन्ति कोरिए
कतै मायाको बहावमा त कतै बिछोडमा भावना घोरिए ।।
कथा मेरो पनि हजारौं छन् यो मनमा उठेका, यो वर्षात् सित,
उन्माद मेरा पनि धेरै छन् बसेका, बनी जीवनका प्यारा मीत ।।

म सोच्छु जीवन केलाउन,अनि पाना पल्टाउन थाल्छु उसका,
कति तीता, कति मीठा भावनाको परि म बसमा ।
खोला बहन्छ आफ्नै बाटो,ऊ सितै बहनु एक उपाय ।
जीवन हिड्छ आफ्नै गति, जीवनको र मेरो फरक मनसाय ।।

मेरो सोच पहाडको टुप्पोमा पुगि छ रोक्किनू ।
उसको सोच, पहाडकै चुच्चोबाट गर्जिदैं बगिदिनू ।।
मेरो सोच, भींड माझ पनि छुट्टै बनी चिनिनू ।
उसको सोच समुद्रमा मिसिई, समुद्र बनीकन बहनू ।।

अलग अलग गुणका तत्व, मानिस र जीवन
प्रकृतिले एकै डुङ्गामा हाली उतार्यो भवसागरमा,
यही डुङ्गाको यात्रा मेरो पनि कथा बनी कोरियो छातीमा ।
कथा तिनै उठे आज फेरि,अनगिन्ति कथाको ताँतीमा ।।

मेरो अवस्था

म मेरो सोचको कैदी हुँ
सोचमा मेरो; मलाई बदल्ने शक्ति छ।
म मेरो विचार स्वयं हुँ
विचारमा मेरो; मलाई ढाल्ने शक्ति छ॥

मेरो सामु खुल्ला आकाश ,
तर पलमै मेरो डरले पर्खाल ठडाउन सक्छ ।
मेरो सामु समुद्रको बहाव
तर मेरो शंकाले यी सब पानी सुकाउन सक्छ ॥

म सूर्यको सामुन्ने न्यायो तापमा,
तर मेरो डाहले रात बोलाउन सक्छ।
म वसन्तको मध्यमा बगैंचामा रम्दै,
तर प्रकृतिको मायाले म मुनि हिउँ जमाउन सक्छ ॥

जति राम्रो मेरो एक छेऊ; त्यति नराम्रो अर्को छेऊ ,
विना नराम्रोको राम्रो छैन, समुद्रमै जम्छ लेऊ ।
म भित्र हरक्षण भौतिक म र आध्यात्मिक मको युद्ध छ
अनि आजभोलि 'आध्यात्मिक म' थकित त 'भौतिक म'ऋद्ध छ ॥

आध्या

पहिलो अन्न तिम्रो जीवनको,आशीश बनी तनमा बहोस्
खुशीको यो सुन्दर अवसर,अमर बनी सब मनमा रहोस् ।।

नामै तिम्रो आध्या,पहिलो शक्ति बनी लोकैमा छाउनू ।
अन्नप्राशनको यही छ आशीश, चाहेको हरेक खुशी पाउनू ।।

सत्य ?

कथाको जति नै बदलिउन् अध्यायहरु,
सार बदलिए कथा भट्किने पो रहेछ ।
व्यथाको जति नै बदलिउन् पाटाहरु,
उपचार नबदलिए घाऊ चर्किने पो रहेछ ।।

'समय' बदलावको पो मात्र आफ्नो रहेछ,
हामी त उसैका पर्यटकहरु खालि ।
आयो, घुम्यो, दुई चार तस्विर लियो,
जाने बेलामा सम्झना मात्र झोलामा हालि ।।

अलिकति जीवन रसिलो बनाउने प्रयास,
अलिकति जीवन चम्काउने सबको आश ।
मान्छेको रुपमा खटाइएको हामी सब काम-दार,
खुशीको बेला जीवन दुई दिनको; आँशुमा चार ।।