श्रद्धाञ्जली

आँखा भिजेका भएपनि, सम्झनाले मुटु हाम्रो छ पूर्ण ;
श्रद्धाञ्जली अर्पण गर्छ ह्रदय , वियोगमा भई जिर्ण ।।
स्वयंमा तिमी ज्ञानका पाठ,एक शिक्षा तिम्रो जीवन,
वेदनाको यस घडीमा, तिम्रो आत्माको शान्ति माग्छ यो मन ।।

शारिरिक रुपमा साथ नरहे तापनि तिमी,
यो विशाल वृक्षको जरा तिमी नै रहन्छौं ।।
छोडी हामीलाई आज गएतापनि,
हर सन्तानको ह्रदयमा ज्ञान बनी बहन्छौ ।।

योग निद्रा

जागेको बेला शरीर हुँ म,
सपनीमा हरपलै बदलिन्छु म ।
मस्त निद्रामा केही छैन ज्ञान,
योग निद्रामा सब हुन्छ भान ।।

जागेको बेला ऋचाको संसार
सपनीमा बदलिंदो रुप र परिवेशको बिहार ।
मस्त निद्रामा यी सबको नाश,
योग निद्रामा, आफू मस्त तर संसारको आभाष ।।

जागेको बेला कर्म र कर्तव्यको ताँती,
सपनीमा कहिल्यै दिन त कहिल्यै रात्री ।
मस्त निद्रामा समयको छैन जोखना,
योग निद्रामा समय र दुरीको छैन व्याखना।।

जागेको बेला 'म,मेरो,मलाई,मैले अनि मसित',
सपनीमा अनुहार विनाको 'म' कै जीत् ।
मस्त निद्रामा छैन म,छैनौ तिमी, न कुनै मीत,
योग निद्रामा तिमी-म सब एक,न हार,न जीत् ।।

जागेको बेला सधैं भविष्यको चिन्ता,
सपनीमा मनको उत्खननबाट चित्रको निम्ता।
मस्त निद्रामा मन, दिमाग र शरीरलाई विश्राम,
योग निद्रामा आत्मालाई मीठो प्रणाम ।।

जागेको बेलामा बदलिंदो प्रकृतिको प्रभाव,
सपनीमा प्रकृतिलाई बदल्ने चाहानाको बहाव ।
मस्त निद्रामा यो प्रकृतिबाट क्षणभरलाई अलग्गिने प्रयास,
योग निद्रामा यही प्रकृतिसित मिली खेल रचेको आभाष।।

जागेको बेलामा सासको कटपुतली भएको सोच ,
सपनीमा यही कथा माथि मनले गरेको खोज ।
मस्त निद्रामा यी सब कोशीशहरु माथि विराम्,
योग निद्रा,एक यात्रा; यी गर्ने गराउनेको धाम् ।।

अनिश्चित्ताको घडा

यति धेरै अनिश्चित्ताका घडा छन् वरपर छरिएका,
हर घडा फेरि मानिसका व्यक्तिगत सोचले भरिएका ।
जीवनको घडा,मरणको घडा,कर्मको घडा,कर्तव्यको घडा,
हर एक घडा बीच यहाँ,घमण्ड र अज्ञान बडा बडा ।।

दु:ख उसको, मसम्म कहिल्यै आइपुग्दैन भन्ने सोच,
उसले पायो, मैले पाइँन, भन्ने मनको भारी बोझ् ।।
यी सब बीचपनि आफूलाई थामी राख्नु पर्ने बाध्यता,
अनि भाग्य र समय बीच निभाउनु पर्ने मध्यस्तता ।।

अन्तरिक्षमा खुल्ला उभिंदा पनि,
शीर माथि आकाश छ भन्ने प्रकृतिको छल।।
हरपलै धर्ती तर्फ सबलाई तानिरहने,
गुरुत्वार्कषण प्रतिको निस्कर्ष रहित हल ।।

मानिस तैपनि भाग्यको पिध रहित घडालाई ,
दुई अन्जुलीले हर क्षण खोज्छ भर्न ।
यहीं घडालाई एकदिन डुङ्गा बनाई,
प्रयास गर्छ मान्छे फेरि भवसागर तर्न ।।

जीवनको घडा,मरणको घडा,कर्मको घडा,कर्तव्यको घडा,
हर एक घडा बीच यहाँ,घमण्ड र अज्ञान बडा बडा ।।

विचार सिन्चन

मनको बगैंचामा आज अनायास,
एक तरंगसित घुम्दै गरेको भावना देखें ।
सौंन्दर्य उसको यस्तो खास,
पलमै नसोची आफ्नो ऊ प्रतिको भाव पोखें ।।

टपक्क टिपी उसलाई लगें सयन कक्षमा
मायाको ओढ्ने भित्र राखी लुकाए वक्षमा ।
मनको रसमा डुबाई आफ्नो विचारले सिचें
आफ्नो ज्ञानले भ्याएसम्म विचारले थिचें ।।

कयौं रात बिते, हेरचाहमा, निद्रा विहीन ,
कयौं दिन बिते, भई मायामोहमा लीन ।
सुक्ष्म सुक्ष्म मेरो विचारको जोरन हाली,
उसमा उगाए विचारको अदभूत् बाली ।।

बढ्दो विचारको हुर्कदो शक्ति एकातिर,
ऊ प्रतिको मेरो अभिलाषा अर्कोतिर ।
उसको बाल्यकाल मेरो इच्छाको संगतमा,
मेरो इच्छाको कम्पन उसको रगतमा ।।

ऊ मेरो आत्माभित्रै अब हर तवरले मिसिएको
इच्छामा परिवर्तित ऊ, इच्छाशक्तिकै मेलमा ।।
मेरा हर परिवर्तन छन् यहाँ चलिरहेको,
यही आत्मा-शक्तिको अदभूत तेलमा ।।

यसरी नै सिन्चन गर्छु,बगैंचामा भेटिएका भावनालाई,
हुर्काई बढाई,विचारमा मिलाई,आफूमा परिवर्तनको आगो जलाई ।।
फेरि आज बगैंचामा भावना छु रोज्दै,
कतै भेटिहाल्छु की भनी परम्-धाम पुग्ने बीज खोज्दै् ।।

आमा मेरी

आमा मेरी, मनैमा छौ सधैं मेरो तिमी
कहिले प्रार्थना बनी, त कहिले आरध्य बनी,
तिम्रो कोखमा बसेको दिन अझ सुनौलो लाग्छ,
तिम्रो काखमा सुतेको सम्झनाले अझैं पींडा भाग्छ ।।

आमा मेरी, आँखैमा छौ सधैं मेरो तिमी
कहिले साहारा बनी, कहिले संगी बनी ।
तिम्रो हात थामेको बाटो अझ गन्तव्य झैं लाग्छ,
तिम्रो अंगालोको स्मरणले, हर मोड छहारी झैं लाग्छ ।।

आमा मेरी, तिमी मेरो अर्थ झैं लाग्छ,
तिमी विना शरीरको हर प्रक्रिया व्यर्थ झैं लाग्छ ।
जति टाढा भए पनि, मेरो हर खोजमा तिमी,
मलाई मायाको परिभाषा सिकाउने; मेरो सोचमा तिमी ।

तिम्रो सु:स्वास्थको कामना; मेरो हर प्रार्थनाको उद्देश्य
अहिले टाढा छु तिमीबाट, तर तिम्रो छेऊ हुने छु अवश्य ।।
सब बन्धन तोडी आउनेछु; अहिले त्यही शक्ति छु बटुल्दै ।
तिम्रो माया आँखाबाट बग्ला भनि; भावना मनमै छु हुल्दै ।

आमा मेरी, म तिमीसितै छु, तिमी मसितै भए जस्तै गरि,
म जे छु, मलाई सधैं डोर्याउछन्, तिम्रो सिख छन् जुन वरिपरि ।
आमा मेरी, मेरो आरधना तिमी, मेरो आरध्य पनि ।
मेरो जीवनको शुरुवात तिमी,अन्त्य तिमीमै त तिमी नै मध्य पनि ।।

मेरा सकारत्मक तरंग

अलिकति मनमा छ चोट,
अलिकति जीवनमा खोट,
तैपनि भवसागरमा जित्छु नै भन्ने,
मेरो यो मनको अठोट ।।

ग्रहण गर्न बाँकी छ थाँती,
छोटो दिन अन्धकारमय राति,
तैपनि कर्तव्यमा सफल हुने विश्वाश,
मेरो शिर भन्दा पनि माथि ।।

पाइला पिच्छे जमिनमा छन् चिरा,
भावना कति मीठा त कति अमिला पीरा,
तै पनि यो अन्धकारमय खानीमा,
मेरो हात पर्ने छ एकदिन हीरा ।।

वरिपरि छरिएका सयौं आकार,
कति कलात्मक त कति विकार,
तै पनि यो निराकार चित्र पेटिमा
मैले कोरेको सपना हुने छ साकार ।।

माया-मोह

मनले छोयो जे, मनकै त्यो भयो,
नपाउन्जेन हरपलै यो मन रोयो ।।
सबमा छ मोह, सबमा छ माया,
मनमै छ मोह, मनमै छ माया ।।

वस्तुमा माया, व्यक्तिमा माया,
शरीरमा माया,धनमा माया ।
हरेक चाहमा, हरपलै यहाँ,
मोहको नव रुप मात्रै पायाँ ।।

मोहले बाँध्यो यति जोडसित,
शरीर अति प्रिय बन्यो मोह-मित,
मायाको अनन्त सागरमा मोहको अन्धोपन,
यो अन्धकारमा, देखिदैंन कतै समापन ।

रुप देख्यो, रुपै माग्छ मन,
धन देख्यो, धनै माग्छ मन ।
आराम हर वस्तुमा खोज्छ मन,
मनै मनबाट चलाउँ जीवन, भन्छ यो मन ।।

काम गर्न नपरोस्,तर मुखमै परोस् माम ,
भक्ति धर्न नपरोस्, तर जीवन बनोस् धाम ,
मनको माग यस्तो, सिधैं प्रकृतिको विपरित्
अब त परमात्माले नै गरुन् यसको हित् ।।