Khalti Ko Prasanga

समस्या र म

हारेको पलमा , लडेको दिनमा, पूरै भई घायल
वरपरको मानिस अनि परिस्थितीबाट आयल-कायल ।
कहीं जब कुनै देखिएको थिएन उज्यालोको स्रोत
ह्दय चोटले ग्रस्त भई रगतमा पूरै हुँदा ओत-पोत ॥

भविष्य हेर्ने शक्ति नभई, बितेका पल तिर लागें
एकपछि अर्को पन्नाहरु पल्टाउँदै गुनगुनाउन लागें ।
समस्या कति कति मेरा जीवनमा हरेक मोडमा
कति पटक म चिच्याए घाऊ र पींडाको तोडमा ॥

समस्या हर पटक पहिलेको भन्दा सबल
हतियार हरेक पटक उसका अझ प्रबल ॥
हर पटक मैले चोट पनि पाएकै हो
हरेक पटक आँसु रुपी संसार धाएकै हो ॥

तर सबैभन्दा ठूलो सत्य यो  छ,
हर पल्ट लडेपछि म उठें, जुटे, अनि दुःखैलाई लुटें ॥
सबैभन्दा ठूलो सत्य यो पनि छ
हर पल्टको लडाईंपछि आफूलाई अझ सुन्दर भेटें ॥

सोचको लडाईं, विचारको लडाईं, समाजको लडाईं
चेतनाको लडाईं, निरर्थक लडाईं, सार्थक लडाईं ॥
लडाईं हर मोडमा आउथ्यो आफ्नो परिभाषा बढाईं ।
बोल्न सिपालु, हर कुरालाई भन्थ्यो बढाईं चढाईं ॥

म हिजो पनि यहीं थिएँ, आज पनि यहीं
हरपल यो सोच्न खोज्दै के गलत के सहीं ?
हर-पटकको युद्धमा जीत मेरै थियो,
अन्तिम वाक्य- जे भयो राम्रै भयो ॥

यो क्षण पनि त्यही लडाईंको अर्को अंग
यसपालिको चोटको अनुभव गर्छ अन्तरंग ॥
तर सत्य यही छ की जीत मेरो नै हुन्छ
जीतको ध्वनिले पनि आत्मालाई छुन्छ ॥

मेरो क्षमताको मैले नै नयाँ रुप अब देख्छु
पहिलेको गर्जन भन्दा बलियो गर्जन सुन्छु ॥
यो घस्रणपछि म हुन्छु  हलुका प्वाँख सरि।
माथि उड्नको लागि  धर्ती छोड्नु छ प्रयास गरि ॥

विश्वास छ आफूमाथि रित्तै भए पनि यो क्षण
आफैं प्रज्वलित हुने शक्तिको म  हुँ प्रत्यारोपण ॥
अनुभव कमजोरीको छ, तर परिस्थिति भन्दा ठूलो मेरो परिभाषा
ब्रम्हाण्ड मेरो साथमा लागिसक्यो, शत्रुको जे होस् पासा ॥

1 comment:

Unknown said...

निकै राम्रो लाग्यो तपाईका ब्लग । के म तपाईको फेसबुक आई डी वा फेस बुक लिंक पाउन सक्छु रु