Khalti Ko Prasanga

चक्र

 खोला नालालाई पहिले दुषित गराई,

फेरि प्रशोधनको नाममा;

तिनमा  रसायन डुबाई ।

'सोडा' ले भरिएको पेय पदार्थ बनाई,

खिल्ली उडायौ मान्छे, तिमीले प्यासको;

      हर घुट्कोमा अवधि घटाई आफ्नो सासको ।।


बिगार्छौ तिमी, अनि बनाउने प्रयासमा गर्छौ व्यापार।

रोग दिन्छौ, औषधी निकाल्न ।

औषधी दिन्छौ, नसोचेको प्रभाव निकाल्न ।

जीवन-चक्र भित्र तिम्रा यस्ता अनगिन्ति चक्र ।

    यी  चक्रले नै, मानिस सब एक अर्कासित वक्र ।।



म को हॅु ?

 म विश्व हॅु, म व्यक्ति हैन,

 म मुहान हॅु; कुनै अभिव्यक्ति हैन ।

स्वतन्त्र छु म; शरीर मैले धरेको,

छाडी पनि दिन्छु; हाललाई, कर्म गरेको ।


म पूर्ण हरदम ; मेरो अंग हो ऊ,

मेरो रूप छैन, मेरो प्रतिरूप ऊ।

मनको म सिमा हैन; मेरो सिमा  छैन,

ज्ञान मबाट बग्छ, मलाई व्यक्त गर्ने ज्ञान छैन  ।


वायु हॅु म, बतास हॅु म,

कीरण हॅु म, सुवास हॅु म ।

कुनै प्रश्न छैनन् मसित अनुत्तरित,

न  भविष्य छ न मेरो कुनै  अतीत ।


प्रतेक पल म पूर्ण, प्रतेक क्षण पूरा,

शरीर मेरो हैन यो; मनको के कुरा ।

अन्नत छु; अन्नत हॅु, पानीको रूप,

जेमा हाल्छौं, जेमा हेर्छौ उसैको प्रतिरुप ।।



तिम्रो रिस !

 तिम्रो रिस साथी, भनूँ कस्तो ?

स्वच्छ हिमालको हिउँ जस्तो ।

तर सूर्यको कीरण चाहिंदैन तिमीलाई

पग्लन्छ एक मधुर मुस्कानको स्पर्सले,

रिस तिम्रो यस्तो छ साथी,

मेटाइदिन्छ त्यसलाई सानो हर्षले ।।


करकलोको पातमा जमेको शीतको थोपा,

अडिदैंन कदापि त्यो पातको अंगमा ।

तिम्रो रिस पनि त्यहीं शीतको थोपा,

गुलाबी सिन्दुर छर्छ तिम्रो मखमली रंगमा ।।


कसरी  बयान गरूँ त्यो रिस अभिव्यक्तिलाई,

कदा कदा झुल्कने त्यो अनौठो शक्तिलाई,

जे छ, अवर्णननीय छ, तिम्रो रिसै पनि,

शब्दै थोरै छन् , वर्णन गर्न भनि ।।


पुसको घाम जस्तो लाग्छ तिम्रो रिस ,

उदाउनै गार्हो, उदाए झन् प्यारो,

मरुभूमिको पानी हो तिम्रो रिस,

पाउनै गार्हो, पाए बाच्ने सहारो ।।


(25 December , 2003)


मन

मन मलासिन, मन विलासिन

मन त्यागूँ कसोरी ?

 मन मलासिन, मन विलासिन

मन अपनाऊ कसोरी ?


मन चञ्चल, मन उडिन्जेल

मन सम्हालू कसोरी ?

मन चञ्चल, मन उडिन्जेल 

मन बँचाऊ कसोरी ?


मनले बितायो, मनले सतायो,

मनको साथ पाऊँ कसोरी ?

मनले दिलायो, मनले  मिलायो,

मनलाई छाँडू कसोरी ?


न त सारथी  साथ, न छ तिम्रो हात,

मन चलाऊँ कसोरी ?

मन  भित्र मेरो, तिमी रहन्छौ,

 मन जलाऊँ कसोरी ?

परदेशि नेपालीहरु

 कोही परदेशिन्छन् चाहानाले, कोही वाध्यताले ।

यी दुईको बीचमा एक हुल छ यस्ताको

जसको विदेशिनू पछाडि समाजको हात छ,

व्यर्थमा कुरा काट्नेहरुको एक जमात छ ।।


फलानोको छोरो अमेरिका गयो,

ढिस्कानोको छोरी अर्ष्टेलिया,

आजकल त पूरै गाऊँ नै,

सरेको छ बसाईँ - कुवेत र मलेसिया ।।


यस्तो नेपाल देशमा के बस्नू ?

क्यानाडाको त बरू हिउँ पनि भुवा ।

नेपालमा सानो काम गर्नु भन्दा 

बरु दुवई मै खनौंला वालुवा ।।


यी सब अर्थहीन कुरा गर्नेहरुको

अर्थहीन कुरा बारबार सुन्दै ।

विदेशिनु पर्छ भन्ने ,

मन्त्रको जप बारम्बर गर्दै ।


आजकल मानव सोत्रको निर्यात

गर्दै गरेको नेपाल समाजको अवस्था,

त्यसमाथि घरबार बेच्नलाई 

प्रोत्साहन गर्ने व्यापारिक व्यवस्था ।।


सरकार पैसा वटुल्दै व्यस्त,

व्यापारिहरु व्यापार बढाउँदै मस्त

देशका स-साना टुक्रा यताउता छरिदै,

घाऊ लाग्नेहरुको गह झन् झन् छ भरिदै ।।



मुसा

 सानो म मुसा, सानै छ शरीर,

छुनु र मुनु, हात र खुट्टा, उर्जाले भरपुर ।

उॅधोमा मेरो सन्तुलनको अनमोल औजार,

मै  जत्रो लामो, प्यारो छ यो मेरो पुछ्छर ।।

 नाकले सुंघ्दछ अन्न र बदाम

प्यारो छ घर , यो आफ्नो गोदाम

तीखा यी मेरा दॅातका जमात

आफूलाई दिन्छु म खानाको सौगात ।।


घुलु र मुलु हुलमा मेरो साथीको बथान

कोही पक्का, कोही कच्चा, कोही मै जस्ता जवान

सुस्तरी आइ, लुकेर हेरी, खुरुरु दौडिइन्छ 

काटेर बोरा, खाएर अन्न, विष्टा सौगातमा  छोडिन्छ ।।

जीवन मेरो, सुन्दर अति, भोजन मिलुन्जेल

मुसा हॅु म, चन्चल रहन्छु, सास यो चलुन्जेल।।



भावनाको बाँध

आजकल हलचल छाएको  छ अस्तित्वको धरातलमा,
उठेको छ आँधी विचारको यो दलदलमा।
'मेरो  निर्णयका उपज हुन् मेरा परिस्थिति' ,
यो सत्यको अनुभवले थामिएको छ अहंको  गति ॥

विचारको उपज हुन् व्यक्तिबाट निस्कने व्यवहार,
तर धेरै कठिन छ लगाउन यी विचारमा लगाम  ।
जब भावनाको वेगले बुद्धि  ढाकिने गरि बाढी आउँछ,
तब उपाय रहन्छ केवल दोहोर्याउनू 'राम- राम' ।।

समस्याको हल त रहेछ केवल भावनाको 'बाँध '।
बाँध यस्तो जुन होस् भावनाको वेग भन्दा  अग्लो र बलियो।।
जसको कण कणमा होस् जीवनको तोड खप्ने क्षमता ।
जसको  धरातलमा होस् एक अलौकिक बुद्धिमता ।।

यस्तो बाँध, जसले मन प्रतिकुलका सब वचन थाम्न सकोस्,
जो चाहाना प्रतिकुलका सब  कार्य बहन गरोस् ।
सांसरिक उथल पुथलमा पनि स्थिर रहोस् ,
हरेक  शारिरीक प्रतिकुलतामा  पनि अडिग होस् ।।

जीवनको मुसलधारे बहावमा मनलाई सुरक्षाको खोल दिने,
समयको  यो बदलिंदो काँचुली बीच, पत्यारिलो बोल दिने ।
कल्पनाको आँखाले देखेको छ अजंग भावनाको त्यस्तो बाँध,
वास्तविकतामा त्यसलाई उतार्ने दायित्व, स्वेच्छाले धरेको  मेरो काँध …..
                                                          

  ऋमशः