Khalti Ko Prasanga

जाग ए शक्ति ...

जाग ए शक्ति, जाग अब, गर्जेर जाग, चम्केर जाग
जाग ए शक्ति, मभित्रको शक्ति ......
तोड यो निद्रा, तोड यो मौनता, वर्षेर जाग, वेगमा जाग
जाग ए शक्ति, मभित्रको शक्ति ......

शान्त थियौं, चन्चल थियौं, पुत्री रुपमा तिमी
सुक्ष्म थियौं, सुसुप्त थियौं, नारि रुपमा तिमी ।
कर्तव्यमा रक्ताम्मे थियौं, पत्नी रुपमा तिमी,
ममताले मदमत्त, मातृ रुपमा तिमी ।।

तर अब जाग,  जाग ए शक्ति, आँधी बेरि सहित जाग ,
 आफ्नो निम्ति हुँइकिएर जाग ।।
तोड यो बन्धन, छोड यो  तन-मन् ,
महा-शक्ति, प्रकृति बनी सुधारको लागि जाग ।।

शरिर भित्र ताप बनि छरिएको तिमी,
नशा भित्र तरल बनी बगिरहेको तिमी,
मन भित्र विचार बनी खेलिरहेको तिमी ,
शरिरको भित्रि कोशमा ज्योति बनी बलिरहेको तिमी ।।

बटुल आफूलाई, जुटाऊ आफूलाई,
जागृत रुपमा आऊ तिमी अब ।।
मभित्रको ए महा-शक्ति ! जाग अब,
आफ्नो निम्ति विश्वासका साथ जाग अब ।।

ऋतु बनी बदलिरहेको तिमी ,
निशा-उषा बनी खेलिरहेको तिमी ।।
माटो बनि लोकलाई पोसिरहेको तिमी ।
धर्ती बनी हर पींडा सोसिरहेको तिमी ।।

सबलाई बोलाऊ, सबको ममा गर  संगम
म मेरो रुप धर्छु, पुर्णताको  होस् आगमन ।।
जाग शक्ति, जाग अब, सूर्योदयको  आयो घडी ।
विगुलको आवाज गुन्जियो, जित्नू छ युद्द लडी ।।

मभित्रको महा-शक्ति जाग ! जाग अब !
अधर्म माथिको धर्म जीतको नयाँ कथा छ लेख्नू ।
मभित्रको महा-शक्ति जाग! जाग अब .....
कुविचारको घडालाई, ज्ञान र विश्वासले छ पोख्नू ।।

 

No comments: