Khalti Ko Prasanga

नयाँ पुस्ता

 साथी साथी मिली, खेल्ने र झगडा गर्ने उमेर मेरो

'निनटेण्डो' विना बाल्यकाल शुरु कहाँ हुन्छ र?

सबै मिली फुटबल खेल खेल्ने चाहना मेरो ।

भिडियो गेमको गोल विना फुटबलको मजा कहाँ आउँछ र?


खेल्ने कुद्ने उमेर मेरो,  आजकल कम्प्यूटर मै खेल्छु।

कहिले जाँच, कहिले पढाई, सब कम्प्यूटर द्वारै चल्छु ।।

उकाली, ओराली, दाँया, बाँया आजकल सबलाई म; 

 आफ्नो  किबोर्डको 'तीर' हरुले  नै ताक्छु ।।

 

नाच्ने गाउने उमेर मेरो,  मोबाइलले आजकल सबलाई नचाउँछ ।

कहिले युट्युब, कहिले गेम, दिन त्यसै त्यसै ढलाउँछ ।।

नाच्न मन छ, गाउन मन छ, सब फेसबुकको निम्ती गरिन्छ ।

'लाइक्स' र 'कमेन्ट' बाट आजकल सफलता-असफलता जोखिन्छ 

शरीरको सुख जस्तै मनको सुख सबलाई छ प्यारो,

इन्स्टाग्राम र टिकटकको ख्याति विना तर सबै छ अधुरो।



 

सबैकुरा ‘टेक्नोलोजी’ले नै चल्छ आजभोलि ए साथी ।

भन्छन् ‘टेक्नोलोजी’ले नै पुर्याउँछ हामीलाई माथि ।।

स्मार्ट फोन, स्मार्ट टिभि, धेरै छन् आजकाल यस्ता ।

नयाँ युग, नयाँ जमाना, यसैले त म - एक नयाँ पुस्ता ।।

 

क्षमा शास्त्र

 क्षमा- अर्थात् क्षयबाट बच्ने द्वार ।

स्वयंको क्षय! शान्तिको क्षय।


क्षमा वस्तु हैन,  क्षमा वाणी हैन।

 क्षमा द्रव्य हैन,  क्षमा अणु हैन ।

 क्षमा एक भावरुपी प्रकाश,

ह्रदयबाट निकाली शक्ति संचय गर्ने प्रयास ।।


 क्षमा संसारबाट मुक्ति पाउने पथ हो,

 क्षमा घाऊ लागेको बेला धन्वन्तरीसम्म पुग्ने रथ हो ।

 क्षमा रित्तिएको बेला आश्रय लिने धन हो  ।

 क्षमा‍- अलौकिक  दिव्य गुरुहरुको मन हो ।।


 क्षमा नै भवसागरबाट उम्कने मलम,

 क्षमा नै नयाँ शुरुवात कोर्ने कापी र कलम ।

 क्षमा नै हर खाडल पुर्ने गुणकारी मिश्रण।

 क्षमा नै परम् आत्माको निश्चल अन्तस्करण ।।


 क्षमा पनि टुसा सरि बिस्तारै उम्रन्छ,

 क्षमा पनि विरुवा सरि बिस्तारै फस्टन्छ ।

धेरै प्रयास पश्च्यात्,  क्षमा पनि एकदिन-

वृक्ष सरि छायावान् बनि फैलिन्छ ।।


 क्षमा व्यक्तिलाई मात्र हैन,

परिस्थिती र समयलाई पनि देऊ ।

हर कठोर विवशताको माझ,

 क्षमा शास्त्र मनमा लेऊ।।




'जंक'

मासु-भात भन्दा मीठो; बाहिरको 'चिकेन -नगेट्' ।

बट्टाको जुस सजिलो, फलफूल चपाउन मरिमेट् ।

घरका केटाकेटी मीठो मान्छन् केवल 'ससेज' अनि 'बर्गर' ।

दाल भात प्रेमीले बुझ्न सकिएन यो 'जंक' रहर ।।


कालो दाल-भात, रायोको साग। छेऊमा धनियाँ पिनेको अचार ।

मुखै रसाउँछ आफ्नो, जब यो पकाउने मात्र आउँछ विचार ।

आजकालका केटाकेटी नाक खुम्चाउँछन् ; 'खै त हाम्रो खाना भनी?'

'जंक-फुड'  बाहेक अरु  खानै हैन। लौन !  कस्तो यो दुश्मनी ?


 दिनभरिको थकावट पछि कामबाट घर छिरेको,

काँधमा 'स्ट्रेस' र महत्वकांक्षाको  भार बोकेको ।

भात-दाल पस्की दिंदा छोराछोरी हर रात बिगार्छन् 'मुड'

कत्ति मै मात्र पीर बोक्नू ? लौ खाओ  'जंक-फुड' !

लडाईंको रणभूमि

कसको भयो हार यहाँ? कसको  भयो जीत?

दुवै आखिरमा पुगिहाले  मृत्यु समीप ।।

मरेर जाँदा हार्नेले  केही लगेन, जित्ने पनि रित्तै,

जित्ने हार्ने दुवैले, अन्त्यमा, मृत्यु पाए सित्तै  ।।


शुरु शुरुको सानो मनमुटाव, तेरो-मेरोको शुरुवात

हातमा  सानो जीवन अनि छातीभरि लिई द्वेष ,

रागजति सबै रगत बनि पोखिए, जीवन पनि  भयो रित्तै,

जित्ने हार्ने दुवैले, अन्त्यमा, मृत्यु पाए सित्तै  ।।


जीवन न त  केवल सुख हो, न त केवल दुःखै मात्र ,

तर सुख समात्न दुःख छल्लाउने सबको भरपूर प्रयास ।।

यो दुःख र सुखको होडबाजीमा सबको हात सधैं रित्तै ।

जित्ने हार्ने दुवैले, अन्त्यमा, मृत्यु पाए सित्तै  ।।


लडाईं सधैं गलत नहोला, तर कुन कुरा प्राण आहुति योग्य छ त? 

कुन त्यस्तो स्वार्थ छ जुन जीवन भन्दा पनि भोग्य छ  त?

सायद, जीवन आहुति योग्य कारण विना - लडाईं सब रित्तै,

जित्ने हार्ने दुवैले, आखिरमा, मृत्यु पाउँछन्  सित्तै ।।


नयाँ पुस्ताको जीवन सिंगारिन्छ, यदि मेरो जीवनको आहुतिले 

यदि कहिको अन्धकार नासिन्छ, सधैंलाई, मेरो चिताको ज्योतिले ।।

तब  सायद त्यो लडाईको अर्थ होला  केही हदसम्म  पुष्टि ,

धेरै जटिल  छ स्वीकार्न, लडाईं, जसले विनास्छ सृष्टि  ।।