Khalti Ko Prasanga

हिऊँको नाममा

हांगा हांगामा हेर हिंऊ पो झूलेछ,
फूल बनी आज ऊ शिशिरमा नि फूलेछ ।।
लहलहराएका छन् आज हेर ती श्वेत पातहरु,
कि कतै हुन् यिनै मुस्काएका प्रकृतिका दाँतहरु ?

म नियाल्दै छु यो सौन्दर्य, भित्र एक कुनाबाट;
चिसो याम मच्चिदै छ,प्रकृति जित्ने कसको आँट ?
पानीले समर्पण गरिसक्यो,उसको वेगमा जमी,
हिउँ विजयमा थुप्रिदैछ बाहिर अझ रमी रमी ।।

नाग्ङिए कति,गाडिए कति तर प्रकृति रोकिंदैन,
दु;खमा दु:खी बन्ने मात्र हो,दु;ख बोक्न सकिदैन ।।
जमिन माथिका बिरुवा पनि,जमिन मुनि सरि,
दु;खमा नि रम्दै होला,दु;ख सितै मित्रता गारि।।

वसन्त थियो हिजो,आज आएको शिशिर;
बदलाव सत्य छ,मनमा के को लिनु पिर??
सौन्दर्य तत्वको, साधारण मनले कहाँ बुझ्छ?
भित्र मन रम्दा पनि,आँसुले आँखा रुझ्छ ।

फूलेको फूलमा मात्र हैन,सौन्दर्य त डाँठमा पनि रहेछ,
फूल बोक्ने शरीरमा, पर्दा भार बोक्ने सामर्थ नि रहेछ ।।
तह तह परि सके,तर यो त शुरुवातै मात्र अरे !
ठूला ठूला प्राणपनि,आज जमिनमै झरे ।।

नजिकको देख्ने,टाढाको छेक्ने मानवको स्वभाव;
नजिकबाट बग्दै टाढा पुग्ने यही नियम हो बहाव ।।
गु्थ्था बोकीं, कालै आकाश छुने त्यही पनि रुखको कोशिश,
माथि पुग्छ, सधैं उठ्छ, प्रयास छ तर छैन कुनै रिस ।।

आज यो मौसम, भोलि तर फर्कि आउँछ त्यही प्रेम
कतै अध्यारो,कतै उज्यालो, यही समयको खेल।।

भयभीत भाव

आज फेरि बाँच्ने मन बिरानोमा बिलायो,
हेर्दा हेर्दै घाटमा, कसले मेरो शरीर जलायो,
ऋतु परिवर्तन भएसरि वसन्त आउने आश;
शरीर पूरै धुँवा बनाई बिछोडियो मेरो सास ।।

मेरो बियोगमा रोयो कि कोही म जस्तै गारि?
जसरि शरिर यहाँ जल्यो,मन कसैको जल्यो की त्यसै गरि।
प्रकृतिबाट आएको शरिर प्रकृति मै जाँदा पनि कति पींडा,
जन्मसितै जन्मि आएको मृत्युसित किन यति घृणा ?

आज फेरि बाँच्ने मन बिरानोमा बिलायो,
हेर्दा हेर्दै घाटमा, कसले मेरो शरीर जलायो,
ऋतु परिवर्तन भएसरि वसन्त आउने आश;
शरीर पूरै धुँवा बनाई बिछोडियो मेरो सास ।।

झगडा पूरानो

पात र हावाको पतझरमा झगडा पूरानो,
हावा गतिमा हराउँछ,ऋतुभर रुख विरानो ।
अंग अंगको झगडामा दिदैं बलिदान
प्रतिक्षामा उभिन्छ, जाडोमा नग्न समान ।।

आफ्नो खानाको स्रोत लुटाएर पनि,
जिवितै रहन्छ मौसमको खेल भनि,
जमिनको साथमा,ऋतुको बेजोड प्रतापमा
हर रुख उभिएकै छ,सूर्यको बदलिदो तापमा ।।

फल उसकै लाग्छ, फूल उसकै फूल्छ
मुना उसकै आउँछ त पात उसकै झुल्छ
प्रकृति बनि आफैं प्रकृतिसितै जुझ्छ,
जति जमिन मुनि त्यति नै आकाशमा पुग्छ।।

त्यसैले त पात र हावाको मीत पनि पूरानो,
समर्पण पात गरि हावामा,रहन्छ रुख विरानो ।।

मेरो दर्शन

नयाँ घर,नयाँ देश,नयाँ समय नयैं छ परिवेश,
नयाँ बन्ने आवेशमा हराएका मेरा भग्नावशेष ।
म खोज्दै छु आफुलाई, कतै हराउँला भन्ने डरमा,
घच्च्याउँदै छु आज,तान्निनछु की भनि लहरमा ।।

स्वयंमा छ आगो,सलाईको लाग्दैन आश,
आफैंले लिएर आएको,आफैं सफल गर्नु छ सास ।
पर छ अन्त्त्य,कहिले खुशी कहिले आँसु कर्मको साटोमा,
लडे बरु उठ्दै जान्छु तर हिड्छु आफै बनाएको बाटोमा ।।

गल्ती

गल्ती,गल्ती,गल्ती
कति कति भए गल्ती,
जानी नजानी गल्तीहरु,
कति कति गल्तीहरु ।।

जानेर गरेका गल्ती
अनि नजानी गरेका गल्ती।
गल्ती नै हुन् आखिर सब गल्ती
मेरा जीवनका अनगिन्ति गल्ती ।।

याद छन् काति,
ती भन्दा बढी बिर्सिएको जति ।
याद भइकन बिर्साइएका झन् कति
खल्ति भरिका मेरा गल्तीहरु ।।

शब्दको गल्ती, अर्थको गल्ती;
वाक्यको गल्ती,सोचको गल्ती;
कर्मको गल्ती, धर्मको गल्ती;
कर्तव्यको गल्ती,बाध्यताको गल्ती;
विवशताको गल्ती,वेवाशताको गल्ती;
चाहानाको गल्ती,वाहानाको गल्ती;
गल्ती,गल्ती मेरा खल्ति भरका गल्ती ।।

अर्थ विहीनका गल्तीहरु
अनि अर्थ पूर्ण गल्तीहरु
गल्ती लुकाइएका गल्तीहरु
मेरा जीवन भरका गल्तीहरु,
खल्ति भरका गल्तीहरु ।।

कल्पना ।।।।।।।।।।।।।।

जहाँ जहाँ बह्यो बतास, हावाको छाप त्यतै तिर,
घाऊ जता जता लाग्यो, पीडा त्यही अंग निर ।
लागेको न चोट हो, न त कुनै बिझेको छ तीर,
तब पनि मृगतृष्णामा डुबे झैं, क को हो मनमा पीर?

नयाँ मोडसित डर लाग्छ,नौलो बाटोबाट नयाँ भय,
कमजोर म हो की मेरो मन, कसले गर्ने यो तय।
अस्तित्वमा बदलाव हुने हल्का भूकम्प जब चल्छ;
मनमा उभिएका सब कल्पना,अनायासै एकसाथ ढल्छ।।

रगत त्यही छ शरीरमा, सोचमा पनि त्यति छैन अन्तर,
नयाँ परिस्थिति जब जोडिन आउँछन्, भत्कन्छन् सपनाका घर ।
म बादलपरि उड्न चाहन्छु,लाग्छ गुरुत्वार्कषणले मलाई रोक्छ,
आकाशमा बहन नदिई, बरु मेरो बोझ धर्तीले नै बोक्छ ।।

जान देऊ मलाई ए धर्ती, बिन्ती गर्दैछु म आज यहाँ,
आज मर्यादाले रोकेको छ,जिद्दीपन सार्है कठोर पुगाउँछ कहाँ ।
म जन्मेको छु उद्देश्यले; उद्देश्य कहाँ छ मैले नि छैन बुझेको,
मेरो अन्त्य शरीर हैन; अनन्तसित अन्त्य छ मेरो जुधेको ।।

म यस्तो वृक्ष हुँ,जरा धर्तीमा फैलन्छ तर फल जसको आकाश पुग्छ,
म यस्तो समुद हुँ, छाल जसको धर्तीमा उठ्छ,गहिराइले जमिन चिर्छ ।
मलाई पुग्नु छ त्यो अनन्तमा,जहाँ एक नै हो सबको अन्त्य ।
जहाँ कविता भाषा होस्,खुशी आहार अनि जीवन एक सन्त ।।

बलियो छु म

दुख्दैन मलाई शरीरमा लाग्दा,रगत बहिदिन्छ र पो,
आउदैन आँसु कहिल्यै मेरो,गह भरिदिन्छ र पो ।।
बालियो छु म धेरै,बुझ्नेले तोड्ने प्रयास गरिदिन्छ र पो,
अटल छु म सदा,प्रकृतीले यदा-कदा साथ छाडिदिन्छ र पो ।।

समस्यासित जुझ्दा ........................

व्यर्थ लाग्दो रहेछ बाँच्नु पनि, जब मनमा उत्साह हुन्छ कम,
एक्लो जस्तो संसार पूरै,जब आत्मियता भन्दा दूरी बन्छ प्रबल ।
मन अनायासै बटारिन्छ,एक्लो विद्याताले छोडी गए सरि,
लाग्छ म एक्लो संसारमा,परीक्षा केवल वरि-परि ।।

आमा-बुवाको छाया,अँधेरो वर्षा रातको छत् जस्तो,
मायाको एक वचन, बिहानीको उज्यालो प्रभात् जस्तो ।
शक्तिको खानी,पिउन खोज्ने मेरो त्यो बानी,
आमाले पो भन्थिन्,नहारी पिउनू है नानी,
एक्लो भारी मन हुँदा, त्यही आउँछ सदा झझल्को,
शीरमा हात सोच्दा पनि,मुश्किल कहिले बन्छ हल्को ।।

चस्मा हरायो

हे भगवान,मेरो चस्मा दिलाइदेऊ
कहाँ गयो बैगुनी,उसलाई बोलाइदेऊ ।
नभनी कन कहाँ गयो,हेर ऊ आज,
ऊ विना दिन पनि लाग्छ भइ गयो साँझ ।।

छोडी मलाई गयो त,एक्लो कहाँ पोर छत?
लिई गयो आँखै पनि,अन्धो मलाई बनाई यता ।
सधैं लिई उसलाई हिड्थे,मनको कुनातिर,
किन चित्त उसलाई दुख्यो,छाडी गयो कुन तीर ??

२२ नोभेम्बर,२००७

म माछा

म माछा हुँ, पानीमा बग्छु म पानी सित,
पानी मलाई छुन्छ,पानी सित लगाउँछु मीत ।
नयन चाहिन्न मलाई, पानीको स्पन्दनले दृश्य देखाउँछ,
म कहाँ बग्छु र ?पानीले पो बग्न सिकाउँछ ।।

म माछा हुँ, पानीमा खेल्छु म पानी सितै,
मन्द मन्द हावामा,गीत गाउँछु पानी भित्रै ।
बोली चाहिन्न मलाई, पानीको सुस्केराले आवाज बनाउँछ,
म कहाँ सुर दिन्छु र? पानीको वेगले मलाई सिकाउँछ ।।

२४ नोभेम्बर,२००७

गन्तव्य

साना कुरामा अल्झिन थाले जीन्दगी होला व्यर्थ,
विख्यात कर्महीन कर्मले,ल्याइदेला निष्काम अर्थ ।
म माथि सोचमा उक्लिन चाहन्छु, गृहको व्यर्थ झगडा हैन ,
म प्रकृतीको अर्थ खोज्न चाहन्छु, दिन काट्ने अखडा हैन।

आँखा खोली हेर्दा स्त्रीको जुनि देख्छु, बन्द आँखाले गन्तव्य अर्कै,
विश्वासका दृष्टिले संकल्प भेट्छु, मनुष्य जुनिले केवल तर्कै ।
म मानिष बनि जुनिमा लटपटिने छैन, यस्तो लाग्छ मनमा सदा,
शरीरको वशमा यद्यपि,मनुष्यको भावमा डुब्छु यदा कदा ।

मेरो गन्तव्य टाढा छ, जहाँ दृष्टि पुग्दैन नर जातका ,
मेरो संकल्प दुर कतै, जहाँ असक्षमता हातका ।
म लोक यस्तो चाहन्छु, वरपर शन्तिको उत्कर्ष रहेको,
हर्ष हैन, अश्रु हैन, खोज खोजमा ज्ञान बहेको।

गन्तव्य यस्तो,चीर मन्त्र शब्दको झन्कार जस्तो,
मनुष्यको रगंमा डुबेर, म आत्मा चाहन्छु परमात्मा जस्तो ।।