Khalti Ko Prasanga

तिमी-पानी

बाहिर हेरेको आज, बेस्सरी पानी परिरहेको देखें,
भित्र हेरेको,तिम्रो मायाको मलाई बानी परिसकेको देखें ।
जति छटपट पानी नपाउँदा माटोले गर्ने गर्छ
त्यति नै छटपट तिमी नहुँदा मुटुले बेहोरेको भेटें ।।

लामो तर्साई पछि बुँदाले धर्ती अगं छुँदा,
जसरी प्रेमको भोगमा झस्किने गर्छे तरंगसित ।
मात्र तिम्रो कल्पनाले मनको दैलो लिप्दा,
बहावको अनुभव रंगिन्छन् अंग-अंगसित ।।

बादलले ढाकेपछि मध्य दिनैलाई निभाइदिने पानीको जोश,
तिम्रो सामिप्यको कल्पनाले मात्र उडिजाने मेरा होश ।
उस्तै उस्तै लाग्छन् यी दुईका गुण-दोषका सार,
एक तिमी नै,जसको सामु नपरि सकल मेरा हार ।।

भीषण गर्जन पछि,अत्तालिएको धर्तीलाई सम्हाल्दै पानी,
उसैका वरिपरी फोहोरा अनि मुस्लो बनी बग्दो पो रहेछ।
एक रुपले तर्साउने अनि अर्को रुपमा हर्ष बनि उदाउने,
उस्तै गुण-दोष लिदैं,हेर, पानी तिमि बनि पो बहेछ ।।