Khalti Ko Prasanga

पहिचान

हरदम बढ्नु मेरो प्रकृति हो,क्षण-भरमा बदलिनु मेरो परिचय,
हिजोलाई छाडी, आजको बाटो हुँदै भोलिमा जानु मेरो लय ।
रुप फरक पार्दै परिस्थितिसँग ठोक्किनु मेरो बहाव,
आफ्नो कर्मले त्यही परिस्थिति बदलिने, मेरो प्रभाव ।।

म केही हैन एक दृष्टिले,म ब्रहाण्ड अर्को दृष्टिले,
मेरो क्षमतामै पर्छ सृष्टि रच्ने,मलाई जन्माएको फेरि सृष्टिले।
म तुच्छ कीरा पलमा,पलमा म विराट् वृक्ष ,
पलमा म ब्रहाण्ड त पलमा यसलाई घुमाउने अक्ष ।।

शक्तिको मुहान म नै हुँ, तर उसैको रुपमा अल्मलिने म जति छैन कोही ,
म स्वयं गन्तव्य हुँ, तर ममा आउने बाटो बिर्सिने म जस्तो छैन कोही।
म हर वस्तु, हर प्रश्नले मागेको परिभाषा हुँ,तर म भन्दा ठुलो प्रश्न पनि छैन ,
म हर संकटको समाधान हुँ,नयाँ आयाम हुँ,तर म भन्दा ठुलो संकट पनि छैन।।

बनाउने म, मिलाउने म,बिगार्ने पनि त मै हुँ,
बढाउने म, फलाउने म,अनि माटोमा मिलाउने पनि त मै हुँ ।
म समय हुँ, म प्रकृति, अनि म नै त शून्य पनि,
म विचार हुँ,म आविष्कार हुँ, अनि हर निर्माणको जन्य पनि ।।