Khalti Ko Prasanga

माया-मोह

मनले छोयो जे, मनकै त्यो भयो,
नपाउन्जेन हरपलै यो मन रोयो ।।
सबमा छ मोह, सबमा छ माया,
मनमै छ मोह, मनमै छ माया ।।

वस्तुमा माया, व्यक्तिमा माया,
शरीरमा माया,धनमा माया ।
हरेक चाहमा, हरपलै यहाँ,
मोहको नव रुप मात्रै पायाँ ।।

मोहले बाँध्यो यति जोडसित,
शरीर अति प्रिय बन्यो मोह-मित,
मायाको अनन्त सागरमा मोहको अन्धोपन,
यो अन्धकारमा, देखिदैंन कतै समापन ।

रुप देख्यो, रुपै माग्छ मन,
धन देख्यो, धनै माग्छ मन ।
आराम हर वस्तुमा खोज्छ मन,
मनै मनबाट चलाउँ जीवन, भन्छ यो मन ।।

काम गर्न नपरोस्,तर मुखमै परोस् माम ,
भक्ति धर्न नपरोस्, तर जीवन बनोस् धाम ,
मनको माग यस्तो, सिधैं प्रकृतिको विपरित्
अब त परमात्माले नै गरुन् यसको हित् ।।



कृतज्ञता

कहीं, कतै, कसैको दृष्टि छ म माथि,
नदेखे पनि, आभास मनमा पक्कै छ साथि।
कहिले प्रोत्साहन बनी,त थाकेको बेला वाहन बनी,
अनुभव मलाई छ, तिम्रो कामना सँगै छ भनी ।।

यो पलको खुशी जसले दियो;यो भाव आज,त्यो साथीको नाम
मेरो सम्झनामा छैन ऊ,तर मनमा अझैं छाएको छ पारिलो घाम ।।
विश्वको जुन कुनामा भए पनि,संदेश भने मैले अवश्यै पाएँ
त्यसैले झुकेको यो मन, शब्द मार्फतै आज यँहा चढाएँ ।।

इन्द्रिय - मेरै हुन् त ?

कसले सुन्छ कानबाट मेरो, कसले हेर्छ आँखाको नानी भित्र-देखि ?
केले पो हो बुझ्ने मन छानी,अनि कसले चलाउँछ दिमागको रेखि ?
मैले गरे जस्तो देखिन्छ संधै, तर विश्वास मेरो गर ,ए साथी!
आँखाले कसरी हेर्ने मलाई आए;निर्भर हुने म थिइन आज चस्मा माथि ।।

दुई कान शरीरमै त छन्,तर ऐना विना यिनलाई चक्षुले कहिल्यै देखिन
कानले वास्तवमा कसरी सुन्ने; त्यो पनि आजसम्म सिक्न सकिन ।
श्रवण शक्तिको शुत्र मात्र आए,आफ्नै मनको वाणी म सुन्थे होला,
तिखो कान बनाई, कयौं समस्यासित सरलै म जुद्धे होला ।।

मनको शुत्र त टाढै मित्र; यसमा त वस मात्र पनि पाए,
आँसु जीवनका सब सुक्थे होलान्, जतिसुकै दु:ख सामु आए ।।
मेरो कसरी भनु म यिनलाई, जब मलाई यिनको सच्चा ज्ञान नै छैन ।
बुझ्ने चाहना धेरै छ, तर कसरी अघि बढ्ने केहीं अनुमान नै छैन ।।

शरीर-आत्मा

शरीरको बाटो अलग, आत्माको बाटो अलग्
दुई मिले पछि मात्रै फेरि उज्यालोको झलक् ।
आत्माले शरीर धर्छ आफूलाई चिन्न भनि,
तर शरीरको चमकमा बिर्सन्छ आफू भिन्न भनी ।।

नाक,मुख,आँखा,कान,दिमाग अनि मन
यिनैलाई मानी उसले सुन,चाँदी धन् ।
अलमलिन्छ ऊ वर्षौ; चडक भडकको संसारिक लोकमा,
शरीर छुट्दै जादाँ,छटपटाउँछ अविरल प्यास र भोकमा।।

ए मानिस सुन ! तिमीले शरीर धर्ने हो,
शरीरले तिमीलाई कदापि हैन।
शरीर आत्माको मार्ग अवश्य हो,
यो मार्ग बाहेक, उद्दार गर्ने अर्को साथी छैन।

साथी हो शरीर तिम्रो,तर सत्य बोधविना ऊ पनि खोटो ,
उसैमा नभूल तिमी,उसको साथ पनि छ छोटो ।
उसको राम्रो साथी बन,तर फेरि दास हैन।
ऊ केवल मार्ग हो, तर उसमा गन्तव्य छैन ।।

जीवन कथा

बादलु यो आकाशको मुनि, कथा अनगिन्ति कोरिए
कतै मायाको बहावमा त कतै बिछोडमा भावना घोरिए ।।
कथा मेरो पनि हजारौं छन् यो मनमा उठेका, यो वर्षात् सित,
उन्माद मेरा पनि धेरै छन् बसेका, बनी जीवनका प्यारा मीत ।।

म सोच्छु जीवन केलाउन,अनि पाना पल्टाउन थाल्छु उसका,
कति तीता, कति मीठा भावनाको परि म बसमा ।
खोला बहन्छ आफ्नै बाटो,ऊ सितै बहनु एक उपाय ।
जीवन हिड्छ आफ्नै गति, जीवनको र मेरो फरक मनसाय ।।

मेरो सोच पहाडको टुप्पोमा पुगि छ रोक्किनू ।
उसको सोच, पहाडकै चुच्चोबाट गर्जिदैं बगिदिनू ।।
मेरो सोच, भींड माझ पनि छुट्टै बनी चिनिनू ।
उसको सोच समुद्रमा मिसिई, समुद्र बनीकन बहनू ।।

अलग अलग गुणका तत्व, मानिस र जीवन
प्रकृतिले एकै डुङ्गामा हाली उतार्यो भवसागरमा,
यही डुङ्गाको यात्रा मेरो पनि कथा बनी कोरियो छातीमा ।
कथा तिनै उठे आज फेरि,अनगिन्ति कथाको ताँतीमा ।।