Khalti Ko Prasanga

जन्मभूमि

जन्मभूमि र कर्मभूमि - मेरो एकै भएन,

वर्षौ  भयो छोडेको, माया मनको गएन ।

जन्मेको भूमि नेपाल नै हो, बोलेको भाषा नेपाली,

रगतमा मेरो नेपालीपन, आँखामा उकाली-ओराली ।


स्वादे छ जिब्रो- कल्पन्छ अझ गुन्द्रुक र भातलाई,

स्मृतिको आँगनमा, मन्दिरको घण्टाले बोलाउछ मलाई ।।

'गरि-खाने' नाममा हेर, लम्किएछु म धेरै अगाडि,

फर्केर हेर्दा विकासको लाममा, मातृभूमि अझैं पछाडि ।।


आजको  कालमा  फैलिएको छ प्रपञ्च विकराल,

जन्मभूमिबाट सन्तानलाई फुस्लाई लग्ने अदृश्य जाल ।

म एक हैन, मेरो जन्मभूमिबाट विदेशिए  सन्तान  लाखौं लाख,

कतै हामी सबको विछोडमा रुष्ट त भएन हाम्रो आमाको काख ?


आफूले बामे सरेको भूमि, जोत्न सकिनँ; छातीमा बोकेकी छु भार,

मनको एक कुनामा दायित्व, अर्को कुनामा  समयको मार ।

पक्की सडकमा बदलिन सकिनँ, आफू हिड्न सिकेको गोरेटोलाई,

रुप र पहिरन बदलिए पनि, भुलाउन सकिनँ सुरुवाल-भोटोलाई ।


अर्पण मैले  केही गर्न सकिनँ, मनमा साँचेकी छु ठूलो उधारी 

सिंचेर मलाई हुर्काएकी भूमि, बेला-बखत मनसपटलमा हेर्छु उघारी ।

विडम्बना ठूलो मेरो,   जन्मभूमि र कर्मभूमि  एकै भएन

समयको ओखती लाउँदा पनि,  यो  मनको घाऊ भरेन  ।।

No comments: