Khalti Ko Prasanga

पाँच दिन- कथाकारको डायरिबाट

दिन- १

तातो  चियाको गिलास,

प्रत्येक चुस्कीमा अलिकति चियाको बास्ना,

थोरै चिनीको मीठास  र पत्तीको हल्का स्वाद ।

हातमा एक कलम अनि आधा लेखिएको  एक पन्ना ।।

आँधी पन्ना टम्म , तर, कथाले रुप अझैं समात्न  बाँकी ।

एक शब्द कोरी- फेरि ! घण्टौं स्तब्ध..............

पन्ना अझैं आधाँ बाँकी- तर,

        छेऊमा एक रित्तिएको चिया गिलास ।।

दिन- २

तातो चिया, स्टिलको गिलास,

लागेको चिसो मार्न; अदुवाको पिरो स्वाद ।

हल्का चिनी र  पत्तीको हल्का बासना ।।

उही आफ्नो कलम र  आधा लेखिएको  पन्ना ।

आज कथामा नयाँ पात्रको प्रवेश हुँदै छ, अलिकति उष्णताको लागि ।।

साधारण जीवनको कथा थोरैले रुचाउछन् ।

समय-कालको माग चडक-भडक मै छ ।।

        चियाको मीठास पनि उष्णतामै छ ।।


दिन- ३

निद्रा मार्न आज ठुलो कपमा चिया ,

लामो रातमा चियाको साथ पनि लामै रहोस् ।

हातमा कलम अनि पल्टिएको नयाँ पन्ना ।

आज कथा अलि अघि बढाउनू छ ।

हिजोको  उष्णताको प्रयोग गरि दुई पात्रलाई भिडाउनू छ।।

            ठूलो कपको चिया- हेर्दा ठूलो भाँडो

                 तर मुनि मुनिको चिया सेलाउने चाँडो ।।


दिन- ४

 आज बिहानै दूध फाट्यो ।

कालो चिया छ आज- थोरै चिनी र रंग हाली ।।

हातमा कलम अनि सामुन्ने कथाको उताव चढाव ।

कथा रंगिन बनाउन भिंडेका हिजोका पात्र -

        आज पींडाको कालिकमा लोतपोत।।

असल जीवनमा भन्दा कथामा प्रायश्चित र माफी दुवै सजिलो।

वास्तविक जीवनमा त  यहाँ चिया पनि सधैं एकै रंगको भेटिंदैन ।।


दिन- ५

दुई कप तातो चिया ।

चियाको  चुस्की सितै- आज साथीको साथ ।

मीठो वार्तालाप अनि कथाको प्रसंग।

हिजोका  बदलिंदा  दिन पछि;

 कथाकारको  जीवनमा आजको  एक सफल दिन

    -  चिया सितै कथाको प्रसंग अनि सामुन्ने लेखको कदर गर्ने साथी।

    - हिजोको कुरा सुनिदिने र भोलिलाई प्रेरणा बनिदिने साथी ।।

No comments: