Khalti Ko Prasanga

आमा मेरी

आमा मेरी, 
मनैमा छौ सधैं मेरो तिमी 
कहिले प्रार्थना बनी, 
त कहिले आरध्य बनी, 

तिम्रो कोखमा बसेको दिन 
अझ सुनौलो लाग्छ,
 तिम्रो काखमा सुतेको
 सम्झनाले अझैं पींडा भाग्छ ।। 

 आमा मेरी, 
आँखैमा छौ सधैं मेरो तिमी
कहिले साहारा बनी, 
त कहिले संगी बनी ।

तिम्रो हात थामेको बाटो 
अझ गन्तव्य झैं लाग्छ, 
तिम्रो अंगालोको स्मरणले, 
हर मोड छहारी झैं लाग्छ ।। 

आमा मेरी, 
तिमी मेरो अर्थ  हौं जस्तो लाग्छ,
 तिमी नहुँदा, उपलब्धी मेरा,
 सब व्यर्थ झैं लाग्छ ।

 जति टाढा भए पनि, 
मेरो हर खोजमा तिमी, 
मलाई मायाको परिभाषा सिकाउने; 
मेरो सोचमा तिमी ।

तिम्रो सु:स्वास्थको कामना;
मेरो हर प्रार्थनाको उद्देश्य ,
टाढा छु तिमीबाट, 
तर तिम्रो छेऊ हुने छु अवश्य ।। 

सब बन्धन तोडी आउनेछु; 
अहिले त्यही शक्ति छु बटुल्दै । 
तिम्रो माया आँखाबाट बग्ला भनि;
 भावना मनमै छु संगाल्दै ।।

आमा मेरी, 
म तिमीसितै छु, 
तिमी मसितै भए जस्तै गरि।।

म जहाँ छु, 
मलाई सधैं डोर्याउछन्,
तिम्रो सिख छन् जुन वरिपरि ।

आमा मेरी, 
मेरो आरधना तिमी, 
मेरो आरध्य पनि । 

मेरो जीवनको शुरुवात तिमी,
अन्त्य तिमी,
तिमी नै मध्य पनि ।।

No comments: