Khalti Ko Prasanga

कर्मले समात्यो

मरुभूमिमा पानी सुके सरि हिम्मत सब अब सुके,
हत्केलाका रेखाहरुले वास्तविकतालाई लुट्नु लुटे ।
जटिलताको जालमा माकुरा आफैं यसरी अल्झियो,
आफ्नो जीवनलाई  शिकार मानी त्यसैमा बल्झियो ।।

के सही ? के गलत? अब कीताबी कथा ताप्ने दिन आए
आदर अनि माया; इन्ची टेपले नाप्ने दिन आए ।।
चारैतिर फैलिएको यो  पिजडा भित्रको सुगा-काव्य ।
फलामको पींजडामा रहेकोले, सुनको ठान्छ  ऊ भव्य ।।

दिन पछि रात, रात पछि दिन, अनि फेरि अर्को रात ।
रित्तो औंला, रित्तो अँजुली, अनि रित्ता छन् हात ।।
शरिरभरि काँडा बोक्ने दुम्सीको लागि त्यो नै गहना ।
प्रकृतिले थमाएको हतियार, गरी सुरक्षाको बाहना ।।

बित्छ रे है यो दिन, बित्छ रे है यो रात, सबै भूत बन्छ रे,
जिन्दगी नै एकदिन बित्छ रे, बितेकोलाई नै भूत भन्छ रे ।।
कर्मले तोकेको सँजायको मुल्य , व्याज सहित तिर्नू नै छ ।
कर्तव्य सितै आएको यो झोला, पिठ्यूमा भिर्नू नै छ ।।
 
विचारशाली  अनि चेतनशील बनी सँजाय भोग्नुमै,सँजाय होला कम
कर्मले समात्छ ‍भन्ने सत्य वर्षंदै छ झम्-झम ।।
सबै व्याज यसैपालि तिर्छु, कर्मले तोकेको सबै मुल्य ।
यसपछि फलमा अलमलिनू छैन, जीवन धेरै छ अमूल्य ।।


 

No comments: