Khalti Ko Prasanga

सुन्दर वर्तमान


बाटो आजको मैले, न हिजो देखेंको थिएँ ।
बाटो भोलिको मैले,न आज देखेको छु ।
दृष्टि  मस्त मेरो , आजको यो पल  नियाल्न।
हस्त व्यस्त मेरो, आजको यो क्षण अंगाल्न ।।

न त म बितेको पल हुँ , न त म आउने त्यो क्षण ।
म सम्पूर्ण वर्तमान अनि यसैको सानो कण ।।
हिजोको दिन हिजैलाई, भोलिको पल भोलिलाई,
आजको यो पल हाम्रो छ, सबै भन्दा राम्रो छ ।।

न म कुनै कथा हुँ, न त कुनै कल्पना
म त यो पलको सत्य हुँ, केवल तथ्य हुँ ।।
न मेरो कुनै मूल छ, न मेरो कुनै गन्तव्य ,
म आफू साधारण छु, म आफू नै भव्य ।।

म एक विन्दु हुँ, म नै सम्पूर्ण आकाश,
म सफलता हुँ , अनि म नै प्रयास ।
म  पूर्ण रुपमा  यति अपूर्ण ,
यो अपूर्णताको सन्तोषमा , सम्पूर्ण ।।

यसैले,
हिजोको दिन हिजैलाई, भोलिको पल भोलिलाई,
आजको यो पल हाम्रो छ, सबै भन्दा राम्रो छ ।।

No comments: