Khalti Ko Prasanga

भावनाको बाँध

आजकल हलचल छाएको  छ अस्तित्वको धरातलमा,
उठेको छ आँधी विचारको यो दलदलमा।
'मेरो  निर्णयका उपज हुन् मेरा परिस्थिति' ,
यो सत्यको अनुभवले थामिएको छ अहंको  गति ॥

विचारको उपज हुन् व्यक्तिबाट निस्कने व्यवहार,
तर धेरै कठिन छ लगाउन यी विचारमा लगाम  ।
जब भावनाको वेगले बुद्धि  ढाकिने गरि बाढी आउँछ,
तब उपाय रहन्छ केवल दोहोर्याउनू 'राम- राम' ।।

समस्याको हल त रहेछ केवल भावनाको 'बाँध '।
बाँध यस्तो जुन होस् भावनाको वेग भन्दा  अग्लो र बलियो।।
जसको कण कणमा होस् जीवनको तोड खप्ने क्षमता ।
जसको  धरातलमा होस् एक अलौकिक बुद्धिमता ।।

यस्तो बाँध, जसले मन प्रतिकुलका सब वचन थाम्न सकोस्,
जो चाहाना प्रतिकुलका सब  कार्य बहन गरोस् ।
सांसरिक उथल पुथलमा पनि स्थिर रहोस् ,
हरेक  शारिरीक प्रतिकुलतामा  पनि अडिग होस् ।।

जीवनको मुसलधारे बहावमा मनलाई सुरक्षाको खोल दिने,
समयको  यो बदलिंदो काँचुली बीच, पत्यारिलो बोल दिने ।
कल्पनाको आँखाले देखेको छ अजंग भावनाको त्यस्तो बाँध,
वास्तविकतामा त्यसलाई उतार्ने दायित्व, स्वेच्छाले धरेको  मेरो काँध …..
                                                          

  ऋमशः

No comments: